चलचित्रमार्फत नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ : राष्ट्रपति पौडेल
काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले निरन्तर प्राथमिकता दिनुपर्ने बताएका छन्।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली चलचित्र उद्योगले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने भएकाले त्यसतर्फ गम्भीर सोच आवश्यक रहेको बताए।
उनले गाउँबस्ती, पाखापखेरा र दुर्गम क्षेत्रका कथा–व्यथालाई सूक्ष्म ढङ्गले चलचित्रमार्फत प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने उल्लेख गरे।
राष्ट्रपति पौडेलले चलचित्र केवल मनोरञ्जनको माध्यम नभई नागरिकमा चेतना, जागरण, रूपान्तरण र राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको बताए। चलचित्रले नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
हिमाल, पहाड र तराईको प्राकृतिक तथा सामाजिक जीवनलाई चलचित्रमार्फत विश्वमञ्चसम्म पुर्याउन सकिने उल्लेख गर्दै उनले चलचित्र क्षेत्रलाई साझा राष्ट्रिय पहिचान निर्माणको आधारका रूपमा लिनुपर्ने बताए।
राष्ट्रपति पौडेलले बदलिँदो समयअनुसार नीति, कानुन, सुविधा र सहुलियतमार्फत चलचित्र उद्योगको संस्थागत सुधार गरी यस क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए। कलाकारसहित चलचित्र उद्योगसँग सम्बन्धित सबै सरोकारवालाको योगदानको उचित सम्मान हुनुपर्ने र यस क्षेत्रमै आत्मसम्मानसहित भविष्य सुरक्षित रहेको अनुभूति गराउन सक्नुपर्ने बताए।
उनले महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न समुदाय र भूगोलका कथालाई चलचित्रमा सम्मानजनक, संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गरिने अपेक्षा पनि व्यक्त गरे।
कार्यक्रममा दीर्घ साधना सम्मानबाट मदनकृष्ण श्रेष्ठ लाई सम्मान गरिएको थियो।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












