परिणाममुखी कार्यसम्पादन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन



काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अनुभवी राष्ट्रसेवकलाई साथमा लिएर सरकार अघि बढ्ने बताउँदै कर्मचारी प्रशासनलाई निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय योजना आयोगमा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना तथा बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उनले राष्ट्रसेवकलाई थप जिम्मेवारी दिएर देश निर्माणको अभियानमा सक्रिय रूपमा जोड्न सरकार इच्छुक रहेको बताए।

अर्थमन्त्री वाग्लेले निजामती सेवा, सुरक्षा निकाय तथा स्वास्थ्य र शिक्षा क्षेत्रलाई राजनीतिक प्रभाव र दलीयकरणबाट मुक्त गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै ट्रेड युनियन खारेज गर्ने निर्णय त्यसैको सुरुआत भएको बताए।

वर्तमान सरकारमाथि जनताले अपेक्षा गरेको नतिजा देखाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै उनले नयाँ कार्यसंस्कृतिसहित काम गर्न आग्रह गरे। “बजेट पारित भइसकेको छ। अब बजेट आउँछ तर कार्यान्वयन हुँदैन भन्ने भाष्य अन्त्य गर्नुपर्छ,” उनले भने।

पुँजीगत खर्चको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको अन्त्यतिर पनि पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेको बताए। उनले आगामी वर्ष विगतको जस्तो कमजोर कार्यसम्पादन स्वीकार्य नहुने स्पष्ट पार्दै बजेट कार्यान्वयनमा विशेष ध्यान दिन राष्ट्रिय योजना आयोगलाई आग्रह गरे।

सरकारको नीति, कार्यक्रम, बजेट र १०० बुँदे शासकीय सुधार कार्यक्रमलाई आधार बनाएर आगामी पाँच वर्षको स्पष्ट मार्गचित्र तयार गरी कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्