धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त



काठमाडौँ, ५ असार । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। साथै, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय पनि गरिएको मन्त्री तिमिल्सिनाले बताए।

मन्त्रिपरिषद्ले सहकारी क्षेत्रको सुधार तथा प्रभावकारी नियमनका लागि सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। बचत तथा ऋण सहकारीको नियमन र सुपरिवेक्षणसम्बन्धी छुट्टै विधेयक तर्जुमा गर्न पनि स्वीकृति दिइएको छ।

बैठकले सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेका प्रतिस्थापन विधेयकहरू सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्