यस्तो छ साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउँनुको रहस्य !


 


काठमाडौं, साउन २

saun_photoसाउने संक्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको संख्या चाहिँ बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।

पहिले गाउँघरमा मेहन्दी पाईंदैनथियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केला दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ । मेहन्दी र चुरापोतेको काम गर्ने व्यसायीलाई भ्याईनभ्याई छ ।

साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा । ‘हरेक संस्कृतिमा महिला सुन्दरताको कुरा गरिएको पाइन्छ । यो सुन्दरता कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो’ समाजशास्त्री नीति अर्याल भन्नुहुन्छ, ‘तर पछिल्ला वर्षहरुमा यसले फेसनको रुप लिएको छ ।’

एकजनाले लगाएको देखेपछि अर्कोलाई पनि लगाउन मन लाग्छ । त्यसैले संस्कृति र परम्परा नबुझेका किशोरी र बालिकाहरु पनि साउनमा मेहन्दी लगाएर फुरफुर हुन्छन् । ‘यसलाई बजारीकरणको रुपमा पनि लिन सकिन्छ’ अर्यालले भन्नुभयो ‘साउनमै चुरा पोते र मेहन्दीको व्यापार बढ्ने भएकाले व्युटीपार्लर व्यवसायी र मेहन्दी व्यवसायी यसलाई प्रमोशन गर्ने हिसाबले लागेका हुन्छन् ।’

यस्तो छ साउने संस्कृति

पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई पा्रप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।

‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविद प्राध्यापक श्रीकृष्ण अधिकारीले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो’ संस्कृतिविद अधिकारीले भन्नुभयो ।

चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् ।

साउनमा महिलाहरुले निकै मन पराउने मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ । त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ । चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको व्यापारीहरु बताउँछन् ।

उज्यालो अनलाइनको सहयोगमा

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्