जब १० बर्षकी बालिकाले स्कुलमै बच्चा जन्माइन…


 


एजेन्सी, साउन ३

ब्राजिलको बेलो होरिजोनेट क्षेत्रस्थित एक विद्यालयमा अध्ययनरत १० वर्षकी बालिकाले स्कुलमै बच्चा जन्माएपछि त्यसले सनसनी मच्चाएको छ ।  कक्षा चलिरहेको बेलामै पेट दुख्यो भनेर चिच्याउन थालेकी ती बालिकालाई सुरुमा त शिक्षकले आउँ वा झाडापखाला तथा अपचका कारण पेट दुख्यो होला भन्ने ठाने ।

तर जब उनको पेट निकै नै दुख्न थाल्यो । शिक्षक शिक्षिकाहरुले पनि उनलाई राम्रोसँग हेर्दा उनलाई बच्चा जन्माउने व्यथा लागेको थाहा भयो । त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो ।

अस्पतालमा ती बालिकाले सुरक्षित रुपमै बच्चा जन्माइन् । उनले गर्भ रहेको ७ महिनामै बच्चा जन्माएको बताइएको छ । मंगलबार बच्चा जन्मिएको र अहिले आमा र बच्चा दुबैजना अस्पतालमै रहेको बताइएको छ ।

अधिकारीहरुका अनुसार ती बालिकालाई उनको सौतेलो बाबुले बलात्कार गरी गर्भवती बनाएको आशंका गरिएको छ । ४० वर्षको सौतेलो बाबुले अवैध रुपमा हतियार समेत राखेको र छोरीलाई धम्क्याएर बलात्कार गर्ने गरेको बताइएको छ ।

ती बालिकाले आफुलाई सौतेलो बाबुले धम्क्याएर बलात्कार गर्ने गरेको र त्यो कुरा भनेमा आमा र दाइलाई मारिदिने धम्की दिने गरेको प्रहरीलाई बताएकी छिन् ।

ती बालिकाकी आमाले भने आफुलाई छोरीको गर्भका विषयमा कुनैपनि जानकारी नरहेको र छोरीको पेट बढेको समेत नदेखेको बताएकी छिन् । तर गएको अक्टोबर देखि छोरी एकतमासको बनेको, खासै बोल्ने नगरेको र स्कुलमा पनि राम्रोसँग पढाइ नगरेको उनको भनाइ छ ।

प्रकाशित मिति: ३ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्