नयाँ स्थानीय तहमा अधिकृत खटिए, अझै कति तह रिक्त ?


 



काठमाडौं, भदौ ३
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकै दिन प्रदेश नम्बर २ अन्तर्गतका ५९ स्थानीय तहमा कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

सरकारले ५५ जना अधिकृत तहका कर्मचारीलाई गाउँपालिका र पाँच उपसचिवलाई नगरपालिकाको कार्यकारी प्रमुखका रूपमा खटाएको हो । प्रदेश नम्बर २ का अझै ३३ नगरपालिकामा दरबन्दीअनुसारको कर्मचारी खटाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । कर्मचारी अभावमा ती स्थानीय तहमा कार्यकारी प्रमुख रिक्त रहँदै आएको छ । अाजको नयाँ पत्रिकामा खबर छ ।

मन्त्रालयले रिक्त रहेका स्थानीय तहमा भदौ महिनाभरिमा कार्यकारी नियुक्त गरिसक्ने बताएको छ । दरबन्दीअनुसार करिब १२८ स्थानीय तहमा कार्यकारी अधिकृत नियुक्त हुन सकेको छैन । ती स्थानीय तहमा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्तको भूमिकामा पठाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि बिहीबार एकैपटक ५९ जना कर्मचारीलाई स्थानीय तहमा ‘काजसरुवा’ गरेको छ । प्रदेश नम्बर २ मा २ असोजमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ । निर्वाचन आयोगले १ भदौदेखि त्यस क्षेत्रमा निर्वाचन आचारसंहिता लागू भएको घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा मात्र अझै ३३ नगरपालिकामा दरबन्दीअनुसारको कार्यकारी अधिकृत रिक्त रहेको छ । यस्तै, देशभर गरी करिब १२८ स्थानीय तहमा कार्यकारी अधिकृत रिक्त छ । मन्त्रालयले ती ठाउँमा चाँडै कर्मचारी खटाउने जानकारी दिएको छ । मन्त्रालयले कार्यकारी अधिकृत रिक्त रहेका स्थानीय तहमा खटाउन सामान्य प्रशासन मन्त्रालयसँग १२० उपसचिव तहका कर्मचारी माग गरेको छ । त्यसमध्ये करिब १६ उपसचिव मन्त्रालयमा हाजिर हुन आइसकेको मन्त्रालयले जनाएको छ । उनीहरूलाई पनि चाँडै स्थानीय तहमा काज सरुवा गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्