शिक्षक सेवा आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित


 


काठमाडौँ, भदौ ६

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ । अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट परीक्षा स्थगित गर्नु भनी पत्र सोमबार आएपछि परीक्षा स्थागित गर्नुपरेको बताउनुभयो ।

यसअघि असार ३१ गते र भदौ ३ गते हुने भनिएको परीक्षा आयोगले बाढीपहिरो आएकाले भदौ १० गतेका लागि सारेको थियो । त्यसअघि असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो । उहाँका अनुसार परीक्षा कार्यक्रम २०७४ साल असोज ८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

मन्त्रिपरिषद् कार्यालयले अविरल वर्षाका कारणले सिर्जना भएको असहज परिस्थिति अझै विद्यमान रहेको र राज्यको सम्पूर्ण ध्यान उद्घार तथा राहत कार्यमा केन्द्रित गर्नु परेको भन्दै शिक्षा मन्त्रालयमार्फत परीक्षा स्थगित गर्न निर्देशन दिएकाले स्थगित गरिएको प्रशासकीय प्रमुख पौडेलले बताउनुभयो ।

देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउनका लागि शिक्षा ऐन आठाँै संशोधनले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो । परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ ।

प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे पनि १५ हजार ६९० ले मात्र दर्खास्त भरेका थिए । अस्थायी शिक्षकहरु परीक्षा सार्न र ऐनको नवौँ संशोधनका माध्ययबाट विगतमा गरिएको परीक्षामा अनुत्तीर्ण शिक्षकलाई पनि सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलित छन् ।

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्