शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने निर्णय स्वागतयोग्य : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सभापति थापाले उक्त करको व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको उल्लेख गरेका छन्। शिक्षा र स्वास्थ्यलाई विलासिताको विषय नभई आधारभूत आवश्यकता भएको उनको धारणा छ।

“निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्, धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो,” थापाले भनेका छन्। निजी क्षेत्र पनि देशको शिक्षा तथा स्वास्थ्य प्रणालीको महत्वपूर्ण साझेदार भएकाले सेवा प्रवाहमै अतिरिक्त करको भार थप्ने नीति समाधानको उपाय नहुने उनको भनाइ छ।

थापाले समता कर हटाउने निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पनि विधिसम्मत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार