को बन्ला नेपाल आइडल ? सुरज थापाको हेराइमा यस्ता छन् चार प्रतिस्पर्धी


 


एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो नेपाल आइडल यतिबेला चर्चाको शिखरमा छ । प्रत्येक हप्ताको बिहिबार र शुक्रबार प्रसारण हुने आइडलका प्रतिस्पर्धीले आ आफ्नै फ्यानहरु बनाएका छन् ।

अघिल्लो हप्ता नेपाल आइडलको टप ६ बाट नेपालगञ्जका सुरज थापा आउट भए । हिजो बुटवलकी सुजाता पाण्डे बाहिरिएसँगै अब प्रतिस्पर्धी चार जना बाँकी रहेका छन् ।

बाँकी रहेका यी चार जना प्रतिस्पर्धी कस्ता छन् । टप ६ बाट नेपाल आइडलको यात्रा समाप्त भएका सुरज थापाको नजरमा चार प्रतिस्पर्धी यस्ता छन् ।

निशान भट्टराई

निशान बच्चैदेखि गुरुसँग संगीत सिकेको मान्छे हो । उसको खारिएको आवाज छ । टोन पनि मिठो छ । जस्तो गीतलाई पनि न्याय गर्न सक्छ ।

उसले आइडल जित्छ वा जित्दैन म ठोकुवा गर्न सक्दिन, तर उ अहिले नै धेरैको आइडल बनिसक्यो । हामी सबैको फेभरेट हो निशान ।

प्रताप दास

मैले जस्तै धेरै स्ट्रगल गरेको व्यक्ति हो प्रताप । पहिले पनि रियालिटी शोमा भाग लिएको अनुभव उसँग छ । मान्छे धेरै मिहिनेती छ र घमण्ड भन्ने एक पित्को पनि छैन ।

उ एउटा भर्सटाइल गायक हो । संगीतमा एकदमै फोकस छ उसको । उसले सांगीतिक क्षेत्रमा धेरै ठूलो नाम कमाउनेछ ।

बुद्ध लामा

बुद्ध निर्दोष र मायालाग्दो छ । झट्ट हेर्दा उसले यति मिठो गाउला जस्तो लाग्दैन । नपत्याउने तरिकाले गाउँछ । सबै खालको गीत गाउने क्षमता छ ।

नेपाल आइडलमा उ सबैभन्दा कान्छो हो । भविष्यमा मिहिनेत गर्दै गएमा उसले संगीत क्षेत्रमा लामो यात्रा तय गर्नेछ ।

सागर आले

सागर कमलो मन भएको मान्छे हो । सानो-सानो कुरामा रुने र हाँस्ने गर्छ । आफ्नो इमोसनलाई कन्ट्रोल गर्न सक्दैन । उसको गायकी एकदम खतरा छ ।

भर्सटाइल छ । लोक, पप, आधुनिक जस्तो पनि गाउन सक्छ । उसको स्वर यति दमदार छ कि माइक नै चाहिँदैन । कोठामा गायो भने कोठै थर्किन्छ । भविष्यमा उ एउटा बिजी र पपुलर सिंगर बन्नेछ ।

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्