कतारमा हुने नेपाल आइडलको ग्राण्ड फिनालेको मिति तय, को–को हुँदैछन् गेष्ट ?


 


काठमाडौं, भदौ ११

नेपाल आइडलमा अब चार जना प्रतिस्पर्धी बाँकी रहेका छन् । बुद्ध लामा, सागर आले, निशान भट्टराई र प्रताप दास आइडलका टप ४ प्रतिस्पर्धी हुन् ।

यी मध्ये एक आउट हुने बित्तिकै टप थ्री बाँकी रहने छन् । टप थ्रीमा पुग्ने सबैले पुरस्कार पाउने छन् । फस्ट रनरअप अर्थात् दोस्रो हुनेले नगद १५ लाख र सेकेण्ड रनरअप अर्थात् तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउने शुक्रबारको कायक्रमा नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्यालले घोषणा गरे ।

पहिलो हुनेले २० लाख रुपैयाँसहित कार पाउने यसअघि नै घोषणा भइसकेको छ । शुक्रबारकै कार्यक्रममा ग्रान्ड फिनाले कतारको राजधानी दोहामा हुने बताइएको थियो । तर मिति भने तोकिएको थिएन । स्रोतका अनुसार यही असोज ६ गते ग्राण्ड फिनालेको टुङ्गो लागेको बताइएको छ ।

यसका लागि तयारी सुरु भएको समेत स्रोतको दाबी छ । कार्यक्रमको तयारी स्वरुप नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्याल दोहा शनिबार उडिसकेका छन् । यो कुरा पौड्यालले सामाजिक सञ्जाल फेसबुमा समेत दोहा उडेको जनाएका थिए ।

सन् २०१४ मा कतारमै यसअघि प्रवासी नेपाली सिङ्गिङ्ग आइडल भइसकेको थियो । यस पटक भने नेपाल आइडलको ग्रान्ड फिनाले हुने ठाउँ पनि कतार भएको हो ।

ग्रान्ड फिनाले २२ सेप्टेम्बर अर्थात् असोज ६ गते कतारको राजधानी दोहास्थित एसियन टाउन एम्पिथियटर, ग्रायन्ड मल, सनायामा हुँदैछ । असोज ५ गते नेपालीको महान चाड दशैँको सुरु हुने दिन अर्थात् घटस्थापना हो । घटस्थापनाको भोलिपल्ट ग्रान्ड फिनाले हुनेछ र नेपालले पहिलो नेपाल आइडल पाउने छ ।

कतारको समय अनुसार साँझ ५ बजे हुने कार्यक्रममा नेपाल आइडलका टप १२ मा रहेका सबै प्रतिस्पर्धीहरु सहभागी हुने घोषणा शुक्रबारकै कार्यक्रममा भइसकेको छ । साथमा केही गेस्ट एपियरेन्स पनि हुनेछ ।

कार्यक्रममा को–को गेस्ट हुने भन्ने पनि तय भइसकेको छ । ती मध्ये एक हुन् तेरिया मगर । तेरियाले सन् २०१४ मा डान्स इन्डिया डान्स लिल मास्टर्स जितेकी थिइन् भने यसै वर्ष अर्थात् २०१७ जनवरी २१ मा कलर्स टिभीको रियालिटी शो झलक दिखला जा सिजन नाइन जितेकी थिइन् ।

त्यसैगरी अर्को गेस्ट एपियरेन्समा हेमन्त राना हुनेछन् । उनका धेरै गीत चर्चित छन्। पछिल्लो पटक उनको ‘सुन साइँली’ गीतले तहल्का मच्चाएको थियो । अर्का पाहुना भने केदार घिमिरे अर्थात माग्ने बूढा हुनेछन् ।

कार्यक्रमका लागि नेपालबाट ८० जनाभन्दा बढीको टोली कतार जाँदैछ । नेपालको प्रतियोगिता किन फाइनल चाँही कतारमा ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्