आमहडताल आजदेखि फिर्ता


 


महोत्तरी, साउन ९

मालपोतको मोठ स्रेस्ता फिर्ता र दोषीलाई कारबाहीको माग राख्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा संयुक्त सङ्घर्ष समितिले गत तीन दिनदेखि गर्दै आएको आमहडताल आजदेखि फिर्ता लिएको छ । शनिबार जिल्ला विकास समितिको सभाहलमा बसेको बैठकले मालपोत कार्यालयको प्रमुखलाई कारबाही गर्नेलगायतका तीन बुँदे सहमति जनाएपछि सदरमुकाम जलेश्वरमा जारी आमहडताल फिर्ता भएको हो।

बन्द खोलाउनका लागि सुरक्षा निकाय र जिल्ला प्रशासनसमक्ष भएको बैठकमा ताल्चा फोरेर मोठ र स्रेस्ता लग्ने मालपोतका तत्कालीन प्रमुख गङ्गाबहादुर घलेलाई कारबाही गर्न भूमि सुधार विभागलाई सिफारिस गर्ने, जिल्लास्थित मालपोत र नापी कार्यालयको सबै कागजात हाललाई यथास्थानमा राख्ने र जिल्लास्तरीय सरोकारवाला निकाय राजनीतिक दललगायतको बैठक गराई सोबाट आएको निकास सर्वमान्य हुने निर्णय भएको हो।

उद्योगी व्यवसायीहरुले मालपोत कार्यालयमा चोरीशैलीमा गायब पारिएका कागजात फिर्ता ल्याई मालपोत कार्यालय सञ्चालन गर्नुपर्ने, मोठ स्रेस्ता गायब गर्ने कार्यमा संलग्नहरुमाथि कारबाही गर्नुपर्ने तथा नापी कार्यालयमा रहेको कागजात पनि लगिने प्रयास भइरहेकाले त्यो कार्य रोकिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए। रासस

प्रकाशित मिति: ९ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्