नेपाल आइडलको भोट नगन्न अदालतको आदेश, अब के हुन्छ नेपाल आइडल ? (फैसलाको पाठ सहित)


 


काठमाडौं, भदौ २१
एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल विरुद्ध दायर रिटमा काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको छ ।

भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । अदालतले भोटिङलगायत सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ ।

अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टेलिभिजनलाई भदौ २३ गते बिहान १० बजे भोटिङलगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

भदौ २३ गते दुवै पक्षलाई बोलाएर बहस हुनेछ । आइडलविरुद्ध सोमबार अधिवक्ता यज्ञमणि न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ बमोजिम मुद्दा दायर गरेका थिए ।

गत साता प्रसारित कार्यक्रममा जनताबाट आएको भोट ३७ लाख २० हजार २८० भएको सार्वजनिक गरिए पनि कसको पक्षमा कति भोट भन्ने सुनाइएको थिएन र कम भोट ल्याउने एक जना आउट हुनुपर्ने भए पनि सबैलाई सुरक्षित गरिएको थियो ।

न्यायाधीश दीवाकर भट्टको इजलासले जारी गरेको आदेशमा यस्तो छ

यसमा निवेदकले विपक्षीहरुबाट मिति २०७४/५/१५ गते ८:४५ बजे नेपाल आइडलको कार्यक्रम सञ्चालन भै सो दिनको ८:४५ बजेदेखि सोही १६ गते दिउँसो १२ बजेसम्म भोट हाल्न प्रस्ताव गरेको र विपक्षीहरुको रुची अनुसारको व्यक्ति प्रतियोगिताबाट बाहिरिने गरी मत प्राप्त भएपश्चात् विपक्षी र निवेदक तथा अन्य भोटर्सबीच भएको करार पूरा गर्ने समयावधिलाई एकपक्षीय रुपमा करार उल्लंघन गरेको हुँदा विपक्षीहरुको उक्त पुनः भोट आह्वान गर्ने निर्णय बमोजिमको कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिपाउँ भनी निवेदन दिएको अवस्थालाई न्यायको रोहमा विचार गर्दा सो विषय वादी प्रतिवादी बीचको छलफल सुनी टुङ्ग्याउन उपयुक्त देखिँदा छलफलका लागि मिति २०७४/५/२३ गते १० बजे सक्कल फाइल तथा विवरण लिई यस अदालतमा उपस्थित हुनु भनी विपक्ष विपक्षीहरुलाई सूचना पठाउनू ।

साथै मिति २०७४/५/२३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसा गर्नू ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्