युएईको दुबई राज्यमा मात्रै २३ नेपाली जेलमा


 


युएई, साउन १३ –

संयुत्त अरब एमिरेट्स युएईको दुबई राज्यमा मात्रै २३ जना नेपालीले कैदी जीवन बिताइरहेका छन् । उनीहरु  विभिन्न आरोपमा जेलमा परेका हुन् । जेल जीवन बिताउँदै आएका एक नेपालीलाई मृत्‍युदण्डको सजाय सुनाइएको छ ।

१३ वर्ष पहिलेदेखि जेल जीवन बिताइ रहेका धारी ३ दार्चुलाका अमर बहादुर बमलाई यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । ‘दुबईको जेलमा मात्र २३ जना नेपाली छन्’ युएईकै अन्य राज्यहरुमा के कती नेपाली छन् भन्ने एकिन विवरणका लागि दूतावासले तथ्यांक संकलन गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिए ।

दूतावासको तथ्याकं अनुसार जेल जीवन बिताउने मध्ये ४ जना महिला छन् । ती ४ महिलाहरुलाई दुबईमा रहेको महिला कारागारमा राखिएको छ ।

१९ जना पुरुष नेपाली मध्ये ५ जनालाई दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा राखिएको छ भने बाँकीलाई दुबईमा रहेको अपराध अनुसन्धान केन्द्रमा राखिएको छ । सेन्ट्रल जेलमा रहेका ५ जना मध्ये एक जनालाई हत्या आरोप र अर्का एक जनालाई भने बलत्कारको आरोप छ ।

बाँकी ३ जना मध्ये एक जनालाई कसैको हत्या योजना बनाएकोले आजीवन कैद सजाय सुनाइएको छ । अर्का एक जनालाई लागु पदार्थ ओसारपोसारमा सम्लग्न भएको भन्दै आजीवन कैद सजाय सुनाइएको हो ।

त्यस्तै अर्का एकजना सामान चोरीमा संलग्न भएका कारण जेलमा छन् । जेलमा रहेका अरु १४ जना नेपालीमाथि पनि विभिन्न आरोप लागेको छ ।

जेल जीवन बिताइ रहेका ४ जना महिला मध्ये एक जनालाई हत्या प्रयास गरेको र अर्की एकलाई झुट्टा कागज पत्र बनाइ प्रयोग गरेको आरोप लागेको छ । बाँकी २ जना महिलालाई अबैधानिक रुपमा परपुरुषसँग अश्लिल व्यवहार गर्दै गरेको अवस्थामा र अर्की एकलाई अवैधानिक रुपमा युएईमा आई दुबईलाई ट्रान्जिट बनाएर अन्य मुलुक जाने अवस्थामा पक्राउ गरेर जेलमा राखिएको हो ।

जेल जीवन जीवन बिताई रहेकाको पूर्ण ठेगाना पारिवारको अनुरोधका कारण सार्वजनिक गरिएको छैन । युएईका विभिन्न जेलमा रहेका नेपालीको बारेमा बाहिर नखुलाइएको भएपनि दुबईमा २३ जना नेपालीले जेल सजाय भोगिरहेको र कर्मचारी अभावका कारण नियमित जेल भ्रमण गर्न नसकिएको युएईका लागि नेपाली राजदूत धनन्जय झाले बताए ।

उज्यालोअनलाइनको सहयोगमा

प्रकाशित मिति: १३ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्