कोरियामा यसरी एक नेपालीले अर्को नेपालीको हत्या गरे


 


sudip

तस्बिर कोरियामा नेपाली युवाबाटै हत्या गरिएका सुदिप राउत

सोल,दक्षिण कोरिया साउन १६

शंखु–४ काभ्रेका सुदिप राउत परिवारका जेठो छोरा थिए । नेपाली समाजमा जेठो सन्तानको परिवारमा दायित्व बढी हुनु स्वाभाविकै हो ।

आर्थिक हैसियत कमजोर भएपछि उनले अध्ययनलाई निरन्तरता दिन सकेनन । परिवारलाई आर्थिक समस्याबाट मुक्त गर्न उनले गाउँमै व्यापार व्यवसाय सुरु गरे । व्यवसायले उनलाई धोका दियो, व्यापारमा घाटा लाग्यो । ऋण तिर्न सकेनन्, ब्याज बढ्दै गयो ।

चुलिँदै गएको ऋणबाट मुक्त हुने उपाय भेटेपछि उनले व्यापार छाडे । गाउँघरबाट कोरिया पुगेका साथीहरुको आर्थिक हैसियतले उनलाई लोभ्यायो । रोजगार अनुमति प्रणालीको फर्म भरे, एकै पटकमा पास गरे ।

आफूसँगै परीक्षा दिएका साथीहरु कोरिया पुगे, तर उनको कामदार कन्ट्याक आएन । साथी भाइसँग निराशा पोखे । धेरै समय कुरेपछि बल्लतल्ल कामदार कन्ट्याक आयो । केही दिनमा सिसिभिआई (भिसा अनुमतिपत्र) मा हस्ताक्षर गरेपछि आएको फ्लाईट डेटले उनलाई खुसी पनि ल्यायो ।

दुई छोरी र एक छोराका बाबु सुदिप सन्तानलाई उच्च शिक्षा दिलाउने बाटो खुलेकोमा प्रसन्न भए । ऋणबाट मुक्ति हुने आशमा उनी कम्ता खुसी थिएनन् ।

परिवारलाई सुख र छोरछोरीलाई उच्च शिक्षा दिने सपना बोकेर उनी १७ दिनअघि कोरियाको इन्छन एयरपोर्ट उत्रिए । त्यहाँबाट उनी ट्रेनिङ सेन्टरमा अभिमुखीकरण कक्षमा सहभागी भएर उनी कम्पनी मालिकसँगै ख्यंगिदो ग्वाङजुको फर्निचर सजावट गर्ने वोनबाइन कम्पनीमा काम थाल्न पुगे ।

दस जोड दुई सकेकी छोरी र उनी भन्दा मुनिका दुई छोराछोरीको भविष्य उज्यालो पार्नका लागि कोरियामा पसिना बगाउन थाले ।

कम्पनीम एक्लो नेपाली उनले गाउँकै भाइपर्ने हरिकृष्ण अधिकारीलाई फोन गरी न्यास्रो हटाउने प्रयास गरे । सम्पर्क गर्नका लागि हरिकृष्णले उनलाई मोबाइल किनेर पठाइदिए । दुईबीच पारिवारिक गफगाफ र कोरियाको कामबारे कुरा भइरहे ।

उनी आएको एक हप्तामा अर्का नेपाली भोजपुरका पर्शुराम राई कम्पनीमा प्रवेश गरे । पर्शुराम आएपछि सुदिपले साथीभाइसँग नेपाली साथी आएको खुसी बाँडे । तर, त्यही नेपाली साथी उनको मृत्यु बोकेर आएको उनलाई के थाहा ?

सुदिपले बिहीबार कम्पनीमा काम सके । कोठामा सुदिपले नै खाना बनाए । दुबै जनाले सँगै खाना खाएर सुते । यौनजन्य रोगबाट पीडित राईले औषधि सेवन गरिरहेका थिए ।

खाना खाएपछि राईले सुदिपलाई पेट दुखेको कुरा सुनाए । अर्को दिन उपचार गर्न जाने सल्लाह गरी दुबै सुते । तर, सुतिसकेका राईले आफ्नो खानामा बिष मिसाइदिएको गलत शंका गरी सुदिपसँग निहुँ खोज्न थाले ।

हुँदै नभएको कुरामा शंका गरेका राईले गहिरो निद्रामा रहेका सुदिपमाथि मध्यराति उठेर चिर्पट प्रहार गरे । निदाएको व्यक्तिले प्रतिरक्षा गर्न सकेनन उनको त्यहीँ मृत्यु भयो ।

शुक्रबार बिहान पाँच बजे घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो । सहकर्मी नेपाली साथी पर्शुरामलाई नियन्त्रणमा लियो । राईले हत्या गरेको स्वीकारे ।

कोरियास्थित नेपाली दूतावासलाई प्राप्त अनुसन्धान रिपोर्ट भन्छ, ‘चिर्पट हानेपछि कन्चटमा रगत जमेर राउतको निधन भयो ।’

पैसा कमाएर परिवारलाई सुख दिने सपना पालेर कोरिया गएका सुदिपले नेपालीकै हातमा मृत्युवरण गर्नुप¥यो । सुदिपको मृत्युसँगै उनका सारा सपना कोरियामै बिलाए ।

सुदिप सदाका लागि निदाए । परिवारको भरोसा ढलेको खबरले सुदिपको घरमा रुवाबासी चलिरहेको छ । एक नेपालीले अर्का नेपालीको जीवनसँगै उनमा आश्रित परिवारको सपनाको समेत घाँटी निमोठे ।

अन्नपूर्ण पोष्ट डटकमबाट

यो पनि पढ्नुहोस्

कोरियामा रहेका भोजपुरका एक युवाले साथीको हत्या गरे

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्