नागबेली तावा भञ्ज्याङ (तस्बिरहरु सहित हेर्नुहोस्)


 


भोजपुर, साउन २०
बर्षायाम । बेलाबखत पानी परिरहेको छ । हरियाली सर्वत्र छाएको छ । यतिबेला पहाडका खोला खोल्सी बढेका छन् । डाँडाँपाखाको दृश्य साच्ँचै मनमोहक बनेको छ ।

जसले आन्तरिक र बाह्य पर्यटकलाई घुम्नका लागि लोभ्याइरहेको छ । यतिबेला खोटाङ र भोजपुरको सिमानामा रहेको तावाभन्ज्याङले आन्तरिक तथा बाह्य पर्यटकलाई बोलाइरहेको छ ।

तावाभन्ज्याङ भोजपुरको पश्चिमी गाविस लेखर्क र खोटाङको खिदिमा गाविसमा पर्छ । वरिपरी पाखाँ, हरियाली जंगलको दृश्य कम्ति लोभलाग्दो छैन् ।

यही ठाउँमा नागबेली आकारमा बग्ने तावा खोलाको मुहान छ । यो खोला आफैमा आर्कषणको अर्काे केन्द्र हो । सामान्यतया खोलाहरु पूर्वतिर र दक्षिणतिर बग्ने गर्छन् ।

तर यो खोला पुर्वबाट पश्चिम उत्तरतर्फ बग्छ । अझ यसको रमाइलो दृश्य के छ भने अधिकांश खोला सिधा बग्छन् तर यो तावा खोला पुरै नागबेली आकारमा बग्ने गर्छ ।

tawabhanjyang (6)यसरी नागबेली आकारमा बगेको खोलाको दृश्य मनमोहक लाग्छ । यहाँ पुग्ने जो कोही खोला बगेको हेर्न लालयित हुन्छन् । यो ठाउँलाई सिधासिमसार क्षेत्र घोषणा गर्न स्थानीयको सरकारसँग माग छ ।

पूर्बबाट पश्चिम उत्तर तर्फ बग्ने प्राकृतिक विशेषता बोकेको यो नागबेली मुहानलाई तावा तालको रुपमा निर्माण गर्न सकिने स्थानीयको भनाई छ । दुबै जिल्लाको सिमाना र सदरमुकामबाट टाढा भएका कारण यो क्षेत्र ओझेलमा परेको स्थानीय उत्तमसिंह राई बताउँछन् ।

यो ठाउँमा सरकारले लगानी गरे पर्यटकिय सम्भावना प्रचुर रहेको राईको भनाई छ । तावा भन्ज्याङ आफैमा सिमसार क्षेत्र समेत हो । झण्डै २७ सय मिटरको उचाईंमा रहेको यो ठाउँमा पहिले मालहासहरु आउने गरेको स्थानीय बताउँछन् ।

उनिहरुका अनुसार हाँसहरु राती आएर चरिसकेपछि बिहान खोलैखोला जाने गरेका थिए । तावा खोलाको मुहानमा माछा समेत पाउने गरेको छ । असला, बुदुना, हिले लगायत माछा पाइने गरेकोमा यतिबेला भने मासिन थालेका छन् ।

झट्ट हेर्दा सानो उपत्यका जस्तै देखिन तावाभन्ज्याङ सेल्मे र ट्याम्के पहाडको बीचमा छ । यो ठाउँको पाखामा गाईभैसी, भेडाबाख्रा चरेको दृश्य अर्काे आकर्षण हो । यो ठाउँका मानिसहरुले पशुपालन ब्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् ।tawabhanjyang (4)

मोटरबाटो नहुँदा भोजपुरबाट दिक्तेल जान यही ठाउँको बाटो प्रयोग हुन्छ । यतिबेला यो ठाउँसम्मे मोटरबाटो पुगेको छ । पहिले मोटरबाटो नहुँदा खोटाङ र भोजपुरको आउजाउ हुने यही मुख्य नाका हो ।

अहिले भोजपुरबाट खोटाङ सदरमुकाम दिक्तेल बजार जोड्ने मोटरबाटो चखेवाभन्ज्याङ हुँदै गएको छ । यद्यपी यो ठाउँको मोटरबाटो नै पछि सिधा र छोटो हुने स्थानीयको भनाई छ ।

tawabhanjyang (2)

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्