बाेक्सी अारोपमा पाँच महिलाको सामूहिक हत्या
भारतको झारखण्ड राज्यको राँचीमा बोक्सीको आरोप लगाएर ५ महिलाको विभत्स तरिकाले हत्या भएको छ। राँचीदेखि ३७ किलोमिटर दूरीमा पर्ने माण्डर थानाअन्तर्गतको कजिया गाउँमा शुक्रबार राती केही व्यक्तिले घरको ढोका खोलेर महिलाहरुलाई बाहिर निकाली हत्या गरेका थिए।
प्रहरीका अनुसार हत्या भएका महिला अलग–अलग परिवारका हुन् । हत्या अभियोगमा प्रहरीले करिब २४ जना व्यक्तिलाई हिरासतमा लिएको छ। त्यहाँ यसअघि पनि बोक्सी भएको आरोप लगाउँदै महिलाको हत्याका घटना हुँदै आएका थिए।
प्रहरी अधिकारीले दिएको तथ्यांकअनुसार राज्य बनेपछि हालसम्म यस्तै घटनामा करिब १२ सय महिलाको हत्या भइसकेको छ।
राँचीका एसपी राजकुमार लकडाले दिएको जानकारीअनुसार गाउँलेको एक समुहले राती बैठक बसेर हत्या गर्ने निर्णय गरी ती महिलाहरुको हत्या गरेको थियो। हत्यापछि उक्त समूहले खुसीयालीसमेत मनाएको बताइएको छ।
हत्या गरिएका महिलाहरु बोक्सी भएको र उनीहरुकै कारण गाउँमा अशान्ति र रोग छाएको अन्ध आरोप लगाउँदै उनीहरुले हत्या गरेको बताइएको छ। मृतकका एक परिवारका अनुसार हत्या गर्ने उक्त समुहले राती ढोका खोल्न आग्रह गरे र महिलालाई बाहिर निकाले।
सबैलाई निर्वस्त्र बनाएर धारिलो हतियारको प्रयोग गरी उक्त समहुले महिलाहरुको हत्या गरेपछि शवलाई आफ्नो कब्जामा लिएका थिए। हत्या लत्ततै घटनास्थल पुगेको प्रहरीको विरोध गर्दै उक्त समुहले लाश उठाउन दिएन । सामुहिक हत्याको घटनापछि त्रासका कारण गाउँलेहरुले राज्य सरकारका मुख्यमन्त्रीलाई गाउँमा ल्याउन माग गरेका छन् । एजेन्सी
प्रकाशित मिति: २३ श्रावण २०७२, शनिबार

















