चितुवाको आक्रमणबाट झापामा ४ जना घाइते
काठमाडौं, मंसिर ७
झापामा चितुवाको आक्रमणमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा एकजना प्रहरीसमेत छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।
शिवसताक्षी नगरपालिका–५ भेलामुनीस्थित धानबारीमा लुकेर बसेको चितुवाले बुधबार अपरान्ह ४ बजेतिर सर्वसाधारणलाई आक्रमण गरेको थियो ।
धानबारीको चितुवाले आक्रमण सुरु गरेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोलीका चितुवा लुकेको स्थलमा पुगेको थियो ।
इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक तीलक राईका अनुसार प्रहरी जवान युवराज थापा चितुवाको आक्रमणबाट घाइते भएका छन् ।
दमकस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । चितुवाले शिवसताक्षी–५ को भेलामुुनीमा गाउँलेलाई आक्रमण गरेको थियो । धान काट्न गएकी स्थानीय ४५ वर्षीया गीता खरेल शिवाकोटी चितुवाको आक्रमणबाट गम्भीर घाईते भएकी छिन् ।
उनलाई टाउको र घाँटीमा चितुवाले टोकेको प्रहरीले जनाएको छ । उपचारका लागि गीतालाई बिर्तामोडको बी एण्ड सी हस्पिटल लगिएको छ ।
शिवसताक्षी–५ का बुधसिंह ताजपुरिया र वडा नम्बर ६ का देवलाल राजवंशीलाई पनि चितुवाले आक्रमण गरेको छ । उनीहरु दुवैको ढाड र टाउकोमा चितुवाले आक्रमण गरेको हो । घाइते ताजपुरिया र राजंवशीलाई पनि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
चितुवालाई जिल्ला वन कार्यालयको टोलीले नियन्त्रणमा लिने बताइएको छ । ‘हामीलाई गोली चलाउने अधिकार छैन, यो केश वनले हेर्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले भने ।
प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार