निवर्तमान सभामुख घर्तीमगरद्धारा मतदान
रोल्पा, मंसिर १०
निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गर्नुभएको छ ।
सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि मतदान गर्नुभयो । संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित हुनुभएन । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ ।
मतदातालाई भयमुक्त ढंगले मतदानको वातावरण बनाइएको सुरक्षाकर्मीले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण ढंगले भइरहेको सुरक्षा स्रोतले बताएको छ ।
प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार
















