भोजपुरबासी भन्छन्- यो सडक कसले बनाउने ?


 


behal sadakभोजपुर, साउन २६
सडक बिग्रेकोले यातायात अवरुद्ध हुन लागेपछि भोजपुरबासीले सडक मर्मतको माग गरेका छन् । सोमबार उनिहरुले जिल्ला प्रशासन कार्यालय गएर प्रमुख जिल्ला अधिकारी समक्ष सडक मर्मत संहारको काम गर्नका लागि माग गरेका हुन् । जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, बस ब्यवसायीहरुले सडक विग्रदा यात्रुहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका थिए ।

यतिबेला भोजपुरका अधिकांश ठाउँमा सडक बिग्रेको छ भने ग्रामिण क्षेत्रमा सडक यातायात नै अवरुद्ध भइसकेको छ । जसका कारण यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । पानी परेपछि आहाल बनेको सडकमा जोखिमपूर्ण ढंगले सवारी साधन चल्दै आएका छन् । तत्काल सडक मर्मत नभए यातायातका साधन गुड्न नसक्ने भएपछि उनिहरुले सरोकारवालापक्षको ध्यानाकर्षण गराएका हुन् ।

यतिबेला भोजपुरका अधिकांश सडक आहाल भएका छन् । जसका कारण धेरैतिर सडक यातायात बन्द छ । सडक हिलाम्मे हुँदा बस गुड्नमा समस्या भएको छ भने साना सवारी साधन ठप्प भएका छन् । छोटो दुरी पार गर्न समेत घण्टौ समय लाग्दा यात्रुहरु समस्यामा परेका छन् । मुख्य गरी सदरमुकाम प्रवेशद्धार मानिएको हिले–भोजपुुर सडक खण्डको श्यामशिला–भोजपुरको सडकको यतिबेला बिजोग भएको छ ।

यो सडकमा भर्खरै कालोपत्रेको काम शुरु गर्न थालेको ठेकेदारले बर्खामा पनि यातायात सञ्चालनका लागि मर्मत संहार गर्ने सहमति गरे पनि समयमा काम नगर्दा यात्रुहरुले सास्ती भोग्नु परेको हो । सडक मर्मतको माग राख्दै प्रशासन पुगेको टोलीसँग प्रमुख जिल्ला अधिकारी सुरेन्द्र राज पौडेलले बिग्रेको सडकको मर्मत कार्य शुरु हुने आश्वासन दिए ।

सर्वपक्षिय छलफलमा सडक विभागमा समस्याको बारेमा जानकारी गराउने र ठेकेदार कम्पनी, जिविस, नगरपालिका, उद्योग बाणिज्य संघ, बस ब्यवसायीले सडक मर्मत गर्न थाल्ने निर्णय भएको छ । जसका लागि परशुराम तिवारीको संयोजकत्वमा सडक मर्मतको टोली समेत निर्माण भएको थियो ।

भोजपुर हुँदै तराई जाने र तराईबाट भोजपुर भित्रने सवारी साधन यतिबेला मुस्किलले चलेका छन् भने समयमा आइनपुग्दा यात्रुहरु बिच बाटोमै अलपत्र हुने गरेका छन् । यतिबेला भोजपुरबाट श्यामशिला सम्मको सडक खण्डको अवस्था दयानिय भएको छ । यो सडक खण्डको २२ किलोमिटर दूरी पार गर्न झण्डै छ घण्टा लाग्ने गरेको छ ।

सडक मर्मतको अवधिभर ठुला मालबाहक सवारी साधन र ट्याक्टरलाई रोक लगाउने निर्णय भएको संयुक्त बस ब्यवसायी संघका अध्यक्ष गोपाल तामाङले बताए । यतिबेला यो सडक खण्डमा जताततै खाल्डाखुल्डी, हिलाम्मे र सडक पुरै आहाल भएको छ । 

यो पनि हेर्नुहोस्

आहाल भए भोजपुरका सडक (हेर्नुहोस् फोटो फिचर)

प्रकाशित मिति: २६ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्