सुन्दर र नमूना नगरका रुपमा चिनाउन खरका छानारहित नगर कार्यक्रम शुरु



रामपुर, पाल्पा, ३ पुस
पाल्पाको रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ ।

नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरका छानामुक्त नगर बनाउने योजना सहित कार्यक्रमलाई तदारुकता दिइएको छ ।

खरका छानारहित नगर कार्यक्रममा ७६८ घरधुरीले आवेदन पेश गरेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । संकलित निवेदनका आधारमा अब छिट्टै प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ गाउँमा पुगेर वास्तविकता बुझेर मात्र अनुदानस्वरुप कर्कटपाता दिने तयारीमा रहेको नगर प्रमुख थापाले बताउनुभयो ।

“मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, कर्कटपाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप कर्कटपाता उपलब्ध गराउनेछौँ”, उहाँले भन्नुभयो ।

आर्थिक वर्ष २०७४÷७५ मा खरका छानारहित नगर कार्यक्रमका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ ।

संकलित आवेदनका आधारमा गरिब तथा विपन्न, दलित समुदायलाई कर्कटपाता राख्नका लागि छिटो अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् ।

प्रकाशित मिति: ३ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्