प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राजपा पहिलो

सप्तरी, पुस ३
सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थान प्राप्त गरेको छ ।
जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ ।
राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५९९ र प्रदेशसभातर्फ ४२ हजार ६०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३०१ र प्रदेशसभातर्फ ३८ हजार ७३३ मत प्राप्त गरेको बताइएको छ ।
संघीय समाजवादी फोरम नेपाल भने प्रतिनिधिसभातर्फ ३२ हजार ४९० र प्रदेशसभातर्फ ३० हजार २३८ मत प्राप्त गरी संघीय फोरम तेस्रो दल बनेको छ ।त्यस्तै नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३० हजार ५२५ र प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरी चौथो पार्टी बनेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १८ हजार ८२० र प्रदेशसभातर्फ १६ हजार ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।त्यस्तै नयाँ शक्ति पार्टीले दुई हजार ७१९ र राप्रपा (प्रजातान्त्रिक)ले दुई हजार १९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताउनुभयो ।
प्रकाशित मिति: ३ पुस २०७४, सोमबार
















