आफ्नै बाबुबाट बलात्कृत छोरीको बेदनाः आमा पोइल गइन्, बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !


 


काठमाडौं, पुस १४

‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।

कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।

जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।

बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्