दुर्गम ठाउँमा पुग्दै सहयोगी हात


 


भोजपुर, जेठ ७

यहाँको दुर्गम ठाउँका भुकम्पपीडितसम्म सहयोगी हातहरु पुग्न थालेका छन् । भुकम्प गएको एक हप्तासम्म एउटा त्रिपालसम्म नपाएका विकट दोभाने गाविसका पीडितले यतिबेला राहत सामाग्री पाउन थालेका छन् । तत्काल एउटा पालको याचना गरेका दोभाने गाविसका भुकम्पपीडितले पाल पाएका हुन् । यो ठाउँका भुकम्पपीडितलाई धरानका स्थानीयले सहयोग गरेका छन् । धरानस्थित ब्लाष्ट टाइम्स दैनिक, मिडिया स्र्पोटिङ क्लब, डिपो उच्च माविको अगुवाईमा राहत सामाग्री उठाएर पीडितलाई वितरण गर्न थालिएको छ । धरानबाट राहत सामाग्री बोकेर आएको टोलीले भुकम्पपीडितलाई वितरण गरेको हो

samagri payapa6i pidit
राहत सामाग्री पाएपछि भुकम्पपीडित । तस्बिर देशकोन्यूज

धरानमा संकलन गरेको पाँच हजार केजी खाद्यान्न, त्रिपाल, म्याट, कपडा लगायतका सामाग्री लिएर पत्रकार सहितको टोली दोभाने गएको थियो । टोलीले पत्रकार महासंघ, स्थानीय प्रहरी प्रशासन र भुकम्पपीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । भोजपुरमा आएको यो नै सबैभन्दा बढी सहयोग सामाग्री हो । यस अघि सेभ द चिल्डे«नले पठाएको दुई सय ५० बोरा राहत सामाग्रीमा नै भोजपुरमा राहत घुमेको थियो । भुकम्पले पुर्वमा सबैभन्दा बढी क्षति भोजपुरमा पुर्याएको छ । भुकम्पले भोजपुर धेरै प्रभावित जिल्ला भएकोले धरानमा राहत सामाग्री संकलन गरेर वितरणमा आएको राहत संकलन टोलीका संयोजक किशोर कार्कीले बताए । सबैको ध्यान पश्चिमतिर केन्द्रित हुँदा भोजपुरका भुकम्पपीडितले राहत पाउन सकेका थिएनन् । विकट ठाउँमा त्रिपाल समेत कसैले पुर्याउन नसक्दा भुकम्पपीडितको बिजोग भएको थियो । यतिबेला दोभानेमा धेरै सहयोगी हातहरु फैलन थालेका छन् । भोजपुरको अन्य गाविसहरुका लागि धरान लगायतका सहरहरुमा राहत संकलन हुन थालेको छ ।
केन्द्र तहबाट भोजपुरमा राहत सामाग्री नआउँदा भुकम्पपीडितको बिचल्नी हुन थालेपछि ठाउँ–ठाउँमा सहयोग संकलन शुरु हुन थालेको हो । भोजपुरमा अहिलेसम्म केन्द्रतहबाट राहत आउन सकेको छैन् । दोभानेमा तत्काल सेभ द चिल्ड्रेनबाट आएको एक सय ५० थान त्रिपाल मात्र पीडितले पाएका थिए । भोजपुरमा सबैभन्दा बढी दोभाने गाविसमा घरहरु ढलेका छन् । यहाँ ५८ वटा घरहरु ढलेक थिए भने दुई सय २८ घरहरु बस्न नमिल्ने गरी क्षतिग्रस्त छन् । एक सय ४७ घरहरुमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले दिएको जानकारी अनुसार अहिलेसम्म दोभाने गाविसमा भुकम्पपीडितलाई दुई लाख ९० हजार नगद वितरण भएको छ ।
दुई सय ८६ थान पाल, कम्बल वितरण भएको छ । कम्बल पाएपछि भुकम्पपीडित खुल्ला आकाश छेकेर पालमुनी बस्न थालेका छन् । यहाँका अन्य गाविसमा अझै पनि राहत सामाग्री पुग्न सकेको छैन् । धेरै संघसंस्था पश्चिम क्षेत्रमा केन्द्रित हुँदा भोजपुरमा भुकम्पपीडितले राहत सामाग्री पाउन नसकेका हुन् । भोजपुरमा एक हजार आठ सय ६५ घरमा पुर्ण रुपले क्षति पुगेको छ भने तीन हजार आठ सय घरमा आंशिक क्षति पुगेको जिल्ला दैबि प्रकोप उद्धार समिति भोजपुरले जनाएको छ । यो संख्या अझै बढ्ने क्रममा छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्