बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला माथि मुद्दा चलाइयो
लहान, पुस २१
कथित बोक्सी भन्दै छिमेकी महिला माथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका-२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरी माथि प्रहरीले मुद्दा चलाएको छ ।
बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको ३५ वर्षीया इनरदेवी दास र उहाँकी १८ वर्षीया छोरी निलम दास माथि मुद्दा चलाएको हो ।
बोक्सी आरोपमा कुटपिट गर्ने आमा छोरी माथि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सिरहामा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेशचन्द्र ठकुरीले जानकारी दिनुभयो ।
गत शनिबार लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतिर बोक्सी लगाउने तिमी नै हो, मेरो घर परिवारका सदस्यलाई रोगी बनाउने तिमी नै हो भन्दै इनरदेवी र उहाँकी छोरी निलमले आफूलाई निर्घात कुटपिट गरेको पीडित रीतादेवीले बताउनुभयो ।
शुरुमा इनरदेवीले भुइँमै पछारे, त्यसपछि निलम र इनरदेवीले निर्घात कुटपिट गरेको रीतादेवीको भनाइ छ ।
बोक्सीको आरोपमा आफूमाथि पटकपटक कुटपिट गर्दा गाउँमै छलफलबाट मिलाउने गरेको भन्दै रीतादेवीले यस पटक आफू कानूनी उपचारका लागि प्रहरीमा आएको बताउनुभयो ।
महिला सम्पर्कविहीन भएपछि परिवार चिन्तित
लहान नगरपालिका-२४ बस्तीपुरकी एक महिला डेढ महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् ।
बस्तीपुर निवासी महेन्द्र यादवकी कान्छी पत्नी आशादेवी यादव आफ्ना दुई वर्षीय छोरासहित विगत डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्नित बनेका हुन् ।
जेठी श्रीमतीका छोराबुहारीसँग विवाद भएपछि आशादेवी आफ्ना काखे बालकसहित बेपत्ता भएको उहाँका पति महेन्द्रले जानकारी दिनुभयो ।
बेपत्ता भएकी आफ्नी पत्नी र छोरालाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि हालसम्म फेला नपरेको महेन्द्रले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले सम्पर्कविहीन भएकी आशादेवीको खोजी भइरहेको बताउनुभयो ।
प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार
















