अत्यधिक चिसोका कारण एक बालकसहित तीन जनाको मृत्यु



राजविराज, पुस २३
विगत चार/पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण शनिबार सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका-८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।

मुसहर समुदायका बालबालिका र वृद्धवृद्धा प्रभावित

यसैगरी केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ ।

हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको स्थानीय श्रवण सदाले गुनासो गर्नुभयो । त्यहाँ रहेका करिब ५०/६० घर परिवारका दलित बस्तीका बालबालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएको उहाँले बताउनुभयो ।

चिसो हावासँगै बढेको अत्यधिक जाडोका कारण काम गर्न समेत जान नसकेकाले आफ्नो दिनचर्या बिताउन पनि समस्या हुने गरेको हनुमाननगर कंकालनी नगरपालिका-२ का नरेश सदाले आफनो दुखेसो पोख्नुभयो ।

जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग नपाएकाले अहिले उनीहरुको जनजीवन कष्टकर बनेको बताइएको छ ।

त्यस्तै हनुमानगर कंकालनी नगरपालिका-५ मा रहेको मुसहर दलित समुदायका बासिन्दासमेत चिसोका कारण प्रभावित भएको स्थानीय मनोज मेहताले बताउनुभयो । रासस

प्रकाशित मिति: २३ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्