जुम्लामा शौचालयभित्र जलेर एकको मृत्यु
जुम्ला, पुस २४
चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ ।
कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहनुभएका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
शौचालय वरिपरि राखेको दाउराको खतान (चाङ) र सुकेको खरमा आज बिहान ५ः०० बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आगो लागेपछि गाउँलेले प्रहरीलाई खबर गर्नेबित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको स्थानीयवासी देवीप्रसाद सिम्खाडाले बताउनुभयो ।
आगलागीबाट शौचालयमा क्षति पुग्यो भन्ठानिएकामा नचिनिने अवस्थामा मान्छेको शव भेटिएको र को हो भनी यकिन गर्दा उपाध्याय नै रहेको सिम्खाडाले बताउनुभयो ।
यता प्रहरीले हातखुट्टा टाउको लगायतका भाग जलेको अवस्थाको शव भेटिएको र सोको मुचुल्का बनाई परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याइएको बताएको छ ।
आगलागी र शौचालयभित्र उपाध्यायको जलेर मृत्यु भएको घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: २४ पुस २०७४, सोमबार
















