मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
गौशाला, पुस २५
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-४ हलखोरीमा मोटरसाइकल दुर्घटनामा आज बिहान एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकडारा गाउँपालिका-४ हलखोरी बस्ने पुण्यदेव रायकी पत्नी ३८ वर्षीया प्रकनियादेवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बतानुभयो ।
प्रकनियादेवी ज ८ प ४८६० नंको मोटरसाइकलमा चढी आफ्ना ज्वाइँसँग भारत विहारको सुरसण्डबाट आज बिहान आफ्नो घर आउँदै गर्दा एकडारा-४ स्थित सडकमा उनीहरु चढेका मोटरसाइकलले विपरीत दिशाबाट दुई बालक चढी आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी उनको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । मृतकका ज्वाइँ घटनापछि फरार छन् ।
सोही दुर्घटनामा परी साइकलमा चढेका स्थानीयवासी १२ वर्षीय अभिराम पाण्डे र १० वर्षीय अमित पाण्डे घाइते भएकामा उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: २५ पुस २०७४, मंगलबार
















