जाडोबाट बचाउन कम्बल वितरण
बागलुङ, पुस २६
जिल्लाको उच्च पहाडी भेगमा बस्ने विपन्न परिवारका सदस्यलाई जाडोबाट बच्न न्यानो कम्बल वितरण गरिएको छ ।
झरना फाउण्डेशन नेपालले मंगलबार ढोरपाटन र निसीखोला गाउँपालिकामा गरी ६० जनालाई कम्बल बाँडेको हो ।
निसीखोला गाउँपालिका वडा नं ३ र ४ का २० र वडा नं. ६ का २० जनालाई एक/एक वटा कम्बल वितरण गरिएको फाउण्डेशनका संयोजक नविन थापाले जानकारी दिनुभयो ।
यस्तै, ढोरपाटन नगरपालिकाको वडा नं ७ मा बस्ने विपन्न परिवारका २० जना सदस्यलाई कम्बल प्रदान गरिएको छ ।
बढ्दो चिसोले जनजीवन प्रभावित भएपछि फाउण्डेशनले ‘न्यानो अभियान’ चलाएको उहाँको भनाइ छ । स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।
“जाडो याममा जीवनयापन गर्न सहज होस् भनेर कम्बल वितरण गरेका हौँ” संयोजक थापाले भन्नुभयो “गरिब तथा विपन्न परिवारप्रति न्यानो अभियान लक्षित छ ।”
न्यानो लुगाको अभावमा चिसोले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने देखेर विपन्न समुदाय लक्षित गरेर ‘न्यानो अभियान’ चलाइएको उहाँको भनाइ छ ।
पछिल्लो समयमा देशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा बढेको अत्यधिक चिसोले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा चिसोकै कारण मानिसको ज्यानै समेत गएको छ । रासस
प्रकाशित मिति: २६ पुस २०७४, बुधबार
















