परिमार्जित विधेयक यसरी संसदमा पेश भयो


 


काठमाडौं, भदाै ७

असन्तुष्ट सभासद्हरुको नाराबाजीबीच सात प्रदेशको सीमाङ्कनको खाकासहित संविधानको परिमार्जित विधेयक आइतबार संविधानसभामा पेश गरिएको छ। उक्त विधेयकमाथिको छलफल बुधबारदेखि शुरु हुने अधिकारीहरुले बताएका छन्।

केही असन्तुष्ट दलहरुले संविधानसभामा नाराबाजी गरिरहँदा मस्यौदा समितिका सभापति तथा नेपाली कांग्रेसका सभासद् कृष्णप्रसाद सिटौलाले चर्को स्वरमा बोल्दै संविधानसभामा विधेयक पेश गरेका थिए। उनले भने, “संविधानसभाले सर्वसम्मत रुपले निर्णय गरेर कार्यान्वयन गरिसक्यो, त्यसलाई उल्ट्याउने प्रयास कसैले नगरौँ, अरु सबैकुरामा यहीँ बसेर हामीले छलफल गर्न सक्छौँ, समाधान खोज्न सक्छौँ, यही आग्रह गर्दै म यो विधेयक प्रस्तुत गर्न अनुमति चाहन्छु।”

परिमार्जित विधेयकमा ३७ भाग र ३०२ धारा रहेको बताइएको छ। विधेयक पेश भए लगत्तै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले त्यसमाथिको छलफलको मिति तय गरेका थिए।

उनले भने, “संविधानको परिमार्जित विधेयक २०७२ उपर सामान्य छलफलको लागि बुधबार विहान ८ बजे बस्ने गरी बैठकको समय तोकेको छु।” संविधान निर्माण प्रक्रियाको अगुवाइ गरिरहेको चार दलीय गठबन्धनको एक घटक मधेशी जनअधिकार फोरम लोकतान्त्रिक उक्त गठबन्धनबाट अलग भईसकेको छ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत माओवादीले सात प्रदेशसहितको सीमाङ्कनको निर्णय गरेपछि फोरम लोकतान्त्रिकले त्यसप्रति असहमति जनाएको हो। परिमार्जित मस्यौदा विधेयक आइतबार संविधानसभामा प्रस्तुत हुनुअघि मधेशी जनाधिकार फोरम लोकतान्त्रिक लगायतका असन्तुष्ट तराई केन्द्रित अन्य दलहरुले संविधानसभाको बैठक बहिष्कार गरेको घोषणा गरेका थिए।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्