भोजपुरमा एक कराेड रकम वितरण


 


भोजपुर, जेठ १०
भोजपुरका भुकम्पपीडितलाई एक करोड बढी रकम वितरण गरिएको छ । शुक्रबारसम्म एक करोड चार लाख ५८ हजार नगद वितरण भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । पुर्ण रुपले घर ध्वस्त भएका भुकम्पपीडितलाई पहिलो चरण अन्तर्गत पाँच हजार नगदका दरले रकम वितरण गरिएको हो । भुकम्पबाट मृत्यु भएका दुई परिवारलाई तत्काल ४० हजार नगद उपलब्ध गराइएको छ । दोभाने गाविसमा १५ लाख ४० हजार भुकम्पपीडितलाई नगद वितरण गरिएको छ । जिल्लामा सबैभन्दा बढी दोभाने गाविसमा भुकम्पले क्षति पुर्याएको थियो ।rahat payapachi
यहाँका तीन सय ८ परिवारलाई नगद वितरण गरिएको हो । खाटाम्मा गाविसमा छ लाख ३५ हजार , कुदाककाउँले गाविसमा पाँच लाख ३५ हजार, रानीबास गाविसमा दुई लाख ८० हजार , छिनामखु गाविसमा एक लाख ६० हजार नगद वितरण भएको हो । यहाँका अन्य गाविसमा पनि यतिबेला धमाधम नगदसँगै राहत सामाग्री वितरण भइरहेको छ । भुकम्पपीडितका लागि केन्द्रबाट एक करोड २५ लाख प्राप्त भएको जिल्ला दैवि प्रकोप उद्धार समिति भोजपुरले जनाएको छ । त्यस्तै एक हजारको संख्यामा पाल आएको छ । केन्द्रबाट पाल आएसँगै गाउँ तहमा पाल वितरण शुरु भएको छ । जिल्लाको ५४ वटै गाविस र दुईटै नगरपालिकामा राहत सामाग्री वितरण गरिदै आएको जिल्ला प्रही कार्यालय भोजपुरका प्रमुख डिएसपी बासुदेव खतिवडाले बताए ।
भोजपुरमा दुई हजार आठ सय ३८ घर भुकम्पबाट पुर्ण रुपले क्षतिग्रस्त छन् । बैशाख २९ गतेको भुकम्पको पराकम्पनबाट यो संख्या बढ्दो क्रममा रहेको छ । सोमबारसम्म भोजपुरमा दुई हजार चार सय ५८ वटा भुकम्पपीडितका लागि त्रिपाल बितरण भएको छ । अहिलेसम्म प्राप्त दुई सय ५३ थान कम्बल र ८८ वटा म्याट वितरण भएको छ । विभिन्न संघ संस्थाले यहाँका भुकम्पपीडितलाई राहत सामाग्री लिएर आउन थालेका छन् । भुकम्पपीडितलाई धरानका स्थानीयले सहयोग गरेका छन् । धरानस्थित ब्लाष्ट टाइम्स दैनिक, मिडिया स्र्पोटिङ क्लब, डिपो उच्च माविको अगुवाईमा राहत सामाग्री उठाएर पीडितलाई वितरण गरिएको छ । धरानबाट राहत सामाग्री बोकेर आएको टोलीले भुकम्पपीडितलाई वितरण गरेको हो । धरानमा संकलन गरेको पाँच हजार केजी खाद्यान्न, त्रिपाल, म्याट, कपडा लगायतका सामाग्री लिएर पत्रकार सहितको टोलीले दोभाने गाविसमा भुकम्पपीडितलाई वितरण गरेको हो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्