नेपाल बाल सङ्गठनबाट दयनीय अवस्थामा रहेका २० बालबालिकाको उद्धार
काठमाडौँ, २ साउन । नेपाल बाल सङ्गठनमा आश्रित बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी तथा भिडियो सामग्रीका आधारमा गरिएको आकस्मिक अनुगमनपछि २० जना बालबालिकाको उद्धार गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बाल हेल्पलाइन (१०४) सहितको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा स्नानगृह अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा कोचिएर राखिएको पाइएको थियो।
अनुगमन टोलीले उक्त अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ। मन्त्रालयका अनुसार बालगृहको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबास व्यवस्थित बनाउन यसअघि नै पटक–पटक निर्देशन दिइएको थियो। सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिए पनि अपेक्षित सुधार हुन नसकेपछि स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाइएको हो।
पछिल्लो समय स्थानीय सरोकारवालाहरू, विभिन्न व्यक्तिहरू तथा बालगृहका केही कर्मचारीबाट त्यहाँको दुरावस्थासम्बन्धी भिडियो सामग्री मन्त्रालयमा प्राप्त भएको थियो। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको र महामारी फैलिन सक्ने जोखिम देखिएको जनाइएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत समेत बालगृहको यथार्थ अवस्था सार्वजनिक गरेका थिए।
उक्त जानकारीका आधारमा बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र आठ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको बताइएको छ।
मन्त्रालयले घटनासम्बन्धी आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बाँकी बालबालिकाको अवस्थाको समेत मूल्याङ्कन गरी आवश्यक निर्णय तथा अनुगमनलाई निरन्तरता दिइने उल्लेख गरेको छ।
Provide your feedback on BizChat
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार







