मन्दिर हिडेकी वृद्धाको टिपरको ठक्करबाट जेब्राक्रममै मृत्यु, ठाउँमै जलाइयो टिपर
बुटवल, माघ ११
जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज बिहान लु१ख ९८३९ नं को टिपरले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।
घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सख्त घाइते हुनुभएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए । आगजनीबाट टिपर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । सोही क्रममा आक्रोशित समूहले अन्य दुई वटा टिपरसमेत तोडफोड गरी क्षति पुर्याइदिएका छन् । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो । रासस
प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

















