आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार


 


पोखरा, माघ  १८

पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।

प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो ।

आजको खेलमा पुलिसका सुमन लामाले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पुलिसका लागि फाइनलमा प्रवेश गर्न सोही गोल निर्णायक बन्न पुग्यो । खेलको २१ औं मिनेटमा पुलिसका रवि पासवानलाई डिबक्सभित्र लडाएपछि रेफ्री सुदीशकुमार पाण्डेले धरानका डिफेन्डर रोमन लिम्बूलाई पहँेलो कार्ड दिए भने पुलिसलाई पेनाल्टीको अवसर दिएका थिए ।

पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले संघर्षपूर्ण भए पनि जीत निस्केकामा खुशी व्यक्त गरे । धरान फुटवल क्लब सुनसरीका म्यानेजर अशोक राईले आज खेलाडीको राम्रो प्रयास भएको बताउँदै रेफ्रीको गलत निर्णयका कारण पराजित हुनुपरेको गुनासो गरे ।

बिहीबारको खेलमा धरानका आधा दर्जन आक्रमण विफल पारेका पुलिसका गोलकिपर शत्रुघन चौधरीले म्यान अफ दि म्याच घोषित भई रु पाँच हजार प्राप्त गरे । शनिबार पुलिस र थ्रीस्टार क्लबबीच फाइनल खेल हुने आयोजक सहारा क्लबका सचिव केशव बरालले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १८ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्