सडक सञ्चालनसँगै खोटाङका पुराना बस्ती तथा बजार विस्थापित



खोटाङ, २१ माघ
सडक सञ्चालन भएसँगै खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन् ।

पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएको हो ।

कुनै समय अति नै चल्तीमा रहेको खोटाङ बतासेस्थित सुनकोशी किनारमै रहेको भण्डारेघाटमा स्थापित पुरानो बजार हाल उराठलाग्दो देखिन्छ ।

त्यो समयको झकिझकाउ लाग्ने बजारको पसलहरू राखिएको घरभित्र हाल गाईगोठ, बाख्रा खोर, कुखुरा खोर र कतै सुँगुर राखेको देखिन्छ । अन्तैबाट सडक सञ्जाल जोडिएपछि कतिपय घरहरू संरक्षण नहुँदा भत्किसकेका छन् ।

स्थानीयवासी राजेन्द्र राईका अनुसार नून–तेलको जोहो गर्ने जिल्लावासी होस् या साहुको भारी बोक्ने भरिया सबै बास बस्नका लागि तथा एक बिसाउनी बिसाउन मात्र भए पनि सोही स्थानलाई केन्द्र बनाउने गर्दथे ।

गाईघाट हुँदै काठमाडौँ लगायतका शहर आवतजावत गर्ने यात्रु पनि भण्डारेघाटमा बसेर थकाइ मार्थे, खाजा, नास्ता खान्थे उस्तै परे बासै बस्थे ।

ठूलै विपत्तिमा परेर बसाइँ सरेको जस्तो लाग्ने यस स्थानका घरपरिवार हाल सडक पछ्याउँदै अलिकति माथितिर पर्ने सडक किनारमा स्थापित भएका छन् ।

महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने सो स्थानमा पसल तथा होटल व्यवसायलाई नै निरन्तरता दिइरहेको स्थानीयवासी बताउँछन् ।

नेपाल सरकार र स्विस सरकारको आर्थिक लगानीमा २०६७ सालदेखि निर्माण शुरु गरिएको सडक २०७० देखि नै आंशिक रूपमा सञ्चालनमा आएको थियो ।

हाल कालोपत्रको तीव्र काम भइरहेको सो सडक सञ्चालनमा आएसँगै विकासको रेखा कोरिएको छ । बतासेको भण्डारेघाट मात्र होइन जिल्लामा निर्मित सडकलगायत अन्य नयाँ संरचनाका कारण कतिपय बजार तथा बस्ती नयाँ स्थानमा सर्न थालेका छन् ।

परापूर्वकालदेखि व्यापार–व्यवसाय गर्दै आएका कतिपय परिवार अन्यत्रबाट सडक सञ्चालन भएपछि विस्थापित भएका छन् ।

जयरामघाट, फोक्सिङटार लगायतका कतिपय व्यवसायी अन्यत्र लगानी गर्ने क्षमता नभएका कारण अन्य पेशा अँगाल्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News