जब अाफ्नै घर बिरानो बने…


 


ध्रुव सुवेदी
भोजपुर, जेठ ८
भोजपुर नगरपालिका ७ की ७२ बर्षिया गोमा तामाङको बैशाख १२ गतेदेखी घरमा बास छैन् । १२ गतेको विनाशकारी महाभुकम्पले तामाङको घर ढल्न त ढलेको छैन् तर बस्न नमिल्ने गरी चर्केको छ । तामाङ परिवारको बसाई यतिबेला घर नजिकै रहेको सदरमुकामको टुडिँखेलमा छ । दिनहुँ उनि घर हेर्दे टुडिँखेलमा बनाएको अस्थायी शिविरमा बस्दै आएकी छिन् । नगरपालिका ७ कै बिच बजारमा रहेकी पार्वती श्रेष्ठको चारतले कच्ची घर बिरानो बनेको छ । घर पुरै छिया–छिया हुनेगरी चर्केको छ । बस्न मिल्दैन् । घर कतिबेला ढल्छ, अत्तोपत्तो छैन् । बर्षाेदेखी उनिहरुले सञ्चालन गर्दे आएको पत्रिका पसल बन्द छ । उनिहरु यतिबेला टुडिँखेलको अस्थायी शिविरलाई आफ्नो घर बनाउन बाध्य छन् । अब यो घर विरानो भयो, बर्षाेदेखी बस्दै आएको आफ्नो घर देखाउँदै पार्वती भन्छिन्, घरमा पस्ने अबस्थै छैन् । तामाङ र श्रेष्ठको मात्रै घर बिरानो बनेको छैन् सदरमुकामका प्रायः सबै घर बिरानो बनेका छन् भने घरका मानिस १२ गतेदेखी नै खुल्ला ठाउँमा बस्न बाध्य छन् ।

asthai shibir
भोजपुर सदरमुकाममको टुडिँखेलमा अस्थायी बसोबासका लागि बनाइएका  शिविर ।

भोजपुर सदरमुकाममा दुई चार घर मात्र ध्वस्त हुने गरी ढले भने अधिकांश घर बस्न नमिल्ने गरी चर्केका छन् । बस्न नमिल्ने गरी घर चर्केपछि स्थानीय खुल्ला ठाउँ र टुडिँखेलमा बस्न थालेका हुन् । कतिपय घरमा बस्न मिले पनि साँझ परेसँगै सुत्न सुरक्षित ठाउँमा स्थानीय जाने गरेका छन् । थोरै घर सामान्य चर्के पनि सबै मानिस खुल्ला ठाउँमा बस्न थालेपछि बस्न मिल्ने घरका मानिस समेत घरमा बस्न सकेका छैनन् । विभिन्न हल्लाले यहाँका सर्वसाधारण अझै त्रसित छन् । २९ गतेको ठुलो धक्काले सर्वसाधारणले बस्न मिल्ने घर समेत छाडेर अन्यत्रै बस्न थालेका हुन् । २९ गते अघि सर्वसाधारण सामान्य जीवनमा फर्कन थालेका थिए । २९ गतेको धक्काले घरहरु चिराचिरा परेपछि सर्वसाधारण असुरक्षित महसुस गर्दे घर बाहिर बस्न थालेका हुन् । भोजपुर नगरपालिकामा मात्र तीन सय ६२ घर पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । तीन सय घरमा आशिंक क्षति पुगेको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । सर्वसाधारण त्रसित भएपछि नेपाली सेनाले टुडिँखेलमा अस्थायी शिविर बनाइदिएको छ । यही शिविरमा स्थानीय बस्दै आएका छन् । लामो समयसम्म भुकम्पको पराकम्पन महशुस हँदा सर्वसाधारण आफै अस्थायी टहरा निर्माणमा जुटेका छन् । बस्न नमिल्ले घरका स्थानीयले टिनको छानो लगाएर आफै अस्थायी टहरो निर्माणमा लागेका हुन् । उनिहरुले घरभित्रको सामान समेत बाहिर निकालेर घर रित्तो पारेका छन् ।
डेरावालको बिचल्नी
भुकम्पपछि डेरा गरेर बस्दै आएका सर्वसाधारणको बिचल्नी भएको छ । भोजपुर सदरमुकाममा प्रायः कर्मचारी, विद्यार्थीहरुले बढी डेरा लिएर बस्दै आएका थिए । भर्खर मात्र पक्कि घर बन्न थालेको भोजपुरमा कच्चि घरकै बाहुल्यता छ । भुकम्पमा अधिकांश घरहरु भत्किएपछि डेरा गरेर बस्नेहरुको बिचल्नी भएको हो । यतिबेला भोजपुरमा डेरा गरेर बस्ने कोठै पाइदैन् । पक्कि घरहरुमा सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु सर्न थालेपछि डेरा लिएर बस्नेहरुको बिचल्नी भएको हो । डेरा पाउन छाडेपछि कतिपयले खुल्ला ठाउँमा टिनको छानो लगाएर अस्थायी घर बनाउन थालेका छन् । कोठा कतै पाइएन्, लामो समयदेखी डेरा लिएर बस्दै आएका ओख्रे गाविसका बलराम राईले भने खुल्ला चौरमै अस्थायी टहरो बनाएँ । कोठा नपाएपछि धेरै डेरावाल यतिबेला अस्थायी टहरो निर्माणको खोजीमा जुटेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्