पहिलो खेलमा नेपाल भारी रनले पराजित


 


काठमाडौं, फागुन २१
आईसीसी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसंग ११६ रनले पराजित भएको छ ।

जिम्बाब्वेले दिएको लिएको ३८१ रनको लक्ष्य पछ्याउँदै मैदान छिरेको नेपालले ६ विकेटको क्षतिमा पूरै ओभर खेल्दै २६४ रनमात्र बनाउन सक्यो । टेस्ट र वान डेमा अनुभवी जिम्बाब्वेलाई नेपालले ६ विकेटको क्षतिमा ३८० रन बनाउन दियो ।

नेपालका लागि शरद भेषावकरले सर्वाधिक ५२ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे । यसैगरी आरिफ शेखले ५० रनको अर्धशतकीय पालि खेले । कप्तान पारस खड्काले ४० रनको योगदान दिए । आक्रामक खेल खेलेका पारसले आठ चौका हिर्काए । यसैगरी निकै सुस्त खेलेका उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए ।

उनले ५९ बलका तीन चौका हिर्काए । नेपालका प्रारम्भिक ब्याट्सम्यान दिलीप नाथ दुई रनमा पेभेलियन फकिँदा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । यसैगरी रोहितकुमार पौडेलले ३०, सोमपाल कामीले अविजित १२, बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछानेले अविजित सात रन बनाए ।

बुलावायोको क्विन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ८० रन बनाएको थियो। जिम्बावेको पालिमा सिकन्दर राजा र ब्रेन्डन टेलरले शतक बनाए ।

राजाले एक सय २३ रन बनाए भने टेलरले एक सय रनको योगदान दिए । राजाले ६६ बलमा नौ छक्का र सात चौका प्रहार गरे । टेलरले ९१ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै सोलोमन मिरले ५२ रनको अर्धशतकीय पालि खेले।

नेपालका कुनै पनि खेलाडीले उत्कृष्ट बलिङ गर्न सकेनन् । आठ ओभर बलिङ गरेका सोमपालले ८२ तथा १० ओभर बलिङ गरेका बसन्तले ६९ रन दिए ।

सन्दीप लामिछाने र ललितनारायण राजवंशीले एकएक विकेट लिए । नेपालले आगामी बिहीबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्