भोजपुरले काचुली फेरेको दिन….


 


पूर्वि पहाडी जिल्ला भोजपुर भौगोलिक दृष्टिले अनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पूर्वाञ्चलको १६ जिल्ला मध्ये भोजपुर पर्यटनका हिसावले अग्रणी स्थानमा आउन सफल हुने निश्चित नै छ । भोजपुरलाई प्राकृतिक हिसाबले नै सु–सम्पन्न बनाउनु भनेको भोजपुरबासीको भाग्यको ढोका खोल्नु हो ।

प्राकृतिक तवरले भरिपूर्ण भएता पनि विभिन्न वाधा व्यवधानका वावजुद विकासका गति मन्द रुपमा अघि बढिरहेको भएता पनि विगत र आजलाई तुलना गर्दा भोजपुरले आफ्नो विकासका पाईला सुस्त गतिमा चालिरहेको स्पष्ट हुन्छ ।

विकासका केही सम्वाहकका रुपमा खडा भएका विद्युत, खानेपानी, सञ्चार, यातायात, स्वास्थ्य, शिक्षा र रोजगार जस्ता विषयमा विकासको लागि गञ्जागोल भई रहेको भोजपुरमा आज भने विकासको टुसा उम्रने क्रम जारी छ । जुन ज्वलन्त उदाहरणको रुपमा भोजपुरमा केन्द्रीय विद्युत लाईन जडान हुनु, सडक यातायात अनि हवाई यातायात, एफ.एम. स्टेशन, हस्पिटल (प्रसुती गृह) जस्ता विकासले फड्को मार्नु भोजपुरको लागि सौभाग्य नै ठान्नु पर्दछ ।

भोजपुर हिले सडक विस्तार भएर कच्ची रोडमा भोजपुरे बासीलाई उपभोग्य सामानको लागि अनि भोजपुरमा भएका सामान निर्यात गर्न र भोजपुरलाई आवश्यक बस्तु आयात गर्न गाडीहरु लाम लागेको दृष्य हेर्न र तीनै गाडीमा सवार हुन पाउँदा भोजपुरे बासीले नदेखेको सपना देख्दा चकित भएको यर्थाथता झल्किरहेको छ ।

हवाई यातायातको सवालमा हवाई यातायात विस्तार हुनु जस्ता विकासका रेखा कोरिनु भनेको भोजपुर विकास हुनु हो । बहुजाती, बहुभाषी सुकुम्वासी अनि करोडपति साधु सन्यासी अनि विद्वानको बसोबास भएको भोजपुरमा आज विभिन्न तह र तप्कामा आज क्रमिक रुपले आफ्ना काचुली फेर्दा भोजपुर बासीको मुहार नै फेरिएको भान भएको छ ।

एकराज भुजेल

हिजोका दिनमा भोजपुरका अधिकांश व्यक्तिहरु भरिया गरेर जीवन यापन गर्ने भरियाले पिठ्यूमा भारी बोकेर पसिनाको धाराले प्यास मेट्दै पारपानी र विस्कुटेको उकालो अनि ओरालोमा सुसेली हाल्दै आफ्नो पीडा व्यथामा मलम लगाउँदै झर्ने दिन एक्कासी आज परिवर्तनको डोबमा देखा पर्दा भरिया गरेर जीवन यापन गर्ने ती भरियाले आफ्नो पेशा खोसिएको अनि आफ्नो गरि खाने तक्मा भाचिएको महशुस गरेर खिन्नता बोध लिई रहेका ती भरिया दाजु भाईको मलिन अनुहार आज एक्कासी परिवर्तनका शिखरमा रमाउनु विवश छन् ।

वास्तवमा उनीहरुले कल्पना गरेको जुन सनातन सोच आज परिवर्तन भएको छ । किनकी उनीहरुले जुन भरियाको पेशा अवलम्वन गरेका थिए अनि त्यसैले जीवनमा देखिएका चटारोको पर्दाफास गर्दै लम्किरहेका ति भरियाले यस्तो सुनौलो अवसर आउला भन्ने सोचेका पनि थिएनन् । तर विडम्वना ठीक आज विपरित भई दिएको छ ।

उनीहरुले जुन अर्काको गुलामी गरेर साहु महानजनको चाकडी गरेर जीवन चाल्न धौ धौ परिरहेको अवस्थालाई भोजपुरको माटोमा पसिना बगाएर आ–आफ्नो क्षमता अनुसार चलेर कृषि पेशामा लागेर विभिन्न नगदे बाली उत्पादन गरी राम्रो आम्दानी कमाएर जीवन गुजार गरिरहेका छन् । डाँडा–काँडा अनि मनोरम दृष्यले भरिपूर्ण भएको भोजपुर ६३ वटा गा.वि.स.को संयोजन हो ।

भोजपुर सदरमुकाम उच्च ठाउँमा अवस्थित छ जहाँ ६३ वटा गा.वि.स.को सदरमुकामको रुपमा परिचित भोजपुर आज विभिन्न आयामहरुको हिसावले फड्को मारिरहेको छ । वास्तवमा भोजपुर अन्य जिल्लाको हकमा पृथक खालकोे रहन सहनमा रमाउने गरेको पाईन्छ । अधिकांश जनता कृषिमा निर्भर हुने गरेका हुनाले उन्नत किसिमको उत्पादन क्षेत्रमा सक्रिय रहेको पाईन्छ ।

वास्तवमा आजको यस सङ्गारमा आएर कृषकहरु कृषि पेशामा लालयित हुनु पनि सौभाग्य नै ठान्नु पर्दछ । भोजपुरमा अवस्थित सिद्धकाली मन्दिर, साल्पा पोखरी, मयूङ् डाँडा, सुन्तले डाँडा, ट्याम्के डाँडा, गोल्मे भिर, घोेरेटार बजार, आबाल ब्रह्मचारी गुरु षडानन्दको जन्मस्थल दिङ्ला जस्ता सु–प्रसिद्ध स्थलहरुले भोजपुरको गरिमामय अझ बढाएको छ ।

भोजपुर सदरमुकाम देखि विभिन्न ठाउँहरुको अवलोकन गर्न पाईने छ । सित्तेल अनि पिखुवाको सुसेलीले त झन भोजपुरलाई अझ उक्साउने कार्य गरिरहेको छ । हिउँदमा सेतै भएर टल्किने अनि वर्षा लागेपछि उर्लेर बहने यी पिखुवा अनि सित्तेल खोलाको चमत्कारी रुप बास्तवमै हेर्न लायक हुने गर्दछ । भोजपुर आजको यस घडिमा ७५ वटै जिल्लाको नमूनाको रुपमा स्थापित हुन कम्मर कसिरहेको यस परिप्रेक्षयमा भोजपुरे बासीहरुले महत्वपूर्ण योगदान गर्नु आजको टड्कारो र नितान्त आवश्यकता छ ।

भोजपुरको शीरको रुपमा उभिएको ट्याम्केकोे तालुमा भ्यू टावर ठ्ड्याएर विभिन्न मूलुकको दृष्यावलोकन र पर्यवेक्षण गर्न पाउनु भोजपुरे बासीको भाग्यको फल फलेको नै ठान्नु पर्दछ ।

त्यही भ्यू टावरको सेरोफेरोमा हरिण, मृग, कृष्णासार अनि सावकहरुको रत्यौली हेर्न पाउनु अनि रातै भएर फुलेका ती गुँरासका फूलहरुले झकिझकाउ भएर मण्डपमा बेहुली सिगारिए झै सिंगारिएको भोजपुरको जुन मनोरम दृष्यले भोजपुरको मुहारलाई हँसिलो बनाएको छ । भोजपुरमा बनाईएका भोजपुरे खुकुरी विश्वमा आज चम्किरहेका छन् ।

भोजपुर मेरो हो भन्ने सनातन सोचलाई परिवर्तन गरेर भोजपुर हामी सवैको हो भन्ने भावनाले ओतप्रोत भई लागिपरेको खण्डमा भोजपुरले पक्कै पनि राष्ट्र अनि अन्तर्राष्ट्रिय जगतमा नै ख्याती पाउने छ । भोजपुरलाई अझ विकासको गतिमा तिव्रता दिनको निम्ति भोजपुरे बासीले सक्दो कम्मर कस्नु पर्ने छ ।

भोजपुरको पुत्रको रुपमा भोजपुरे आमाको काखमा पछारिएका हामी भोजपुरे देश प्रदेश अनि विदेशमा रहेका जे–जति भोजपुरे छौं । हामी सवैले भोजपुरको विकासका लागि अनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको खण्डमा भोजपुरले अवश्य पनि विकासका गति अघि बढाउन सक्दछ ।

भोजपुरले लामो दशक देखि विकासको गति अनि हरेक क्षेत्रमा ओझेलमा पर्नु भनेको मूलभूत रुपमा राजनैतिक खिचतानी, नातावाद, कृपावाद जस्ता चरम खोक्रो आडम्वरले गर्दा भोजपुरले विकासको शिर ठड्याउन नसकिरहेको अवस्था विरलै थियो । प्राकृतिक तवरले सु–सम्पन्न भएता पनि भोजपुर विकास गर्ने भन्ने अमिट छाप हृदय देखि नै नबस्नु मूल कारक तत्वका रुपमा पर्दछ भने एक अर्काको खुट्टा तान्ने जुन सनातनवाद झाङ्गिनु पनि एक हो ।

नत्र वास्तवमा भोजपुर आजको यस दुनियामा भोजपुरले राम्रो काचुली फेरि सक्ने थियो । जुन भोजपुरले काचुली फेरेको दिन भोजपुरको पहिचान नै अर्कै हुने निश्चित छ । तर भोजपुर हिंसा रहित घोषणा हुनु पर्दछ । शान्ति सुरक्षाको प्रत्याभूति जनतालाई ग्यारेन्टी हुनु पर्दछ । भोजपुर विकास गर्न लाग्ने जो–सुकै व्यक्ति संस्था निकाय आदिलाई काम गर्ने वातावरण सहज र सरल भएको खण्डमा अवश्य विकासले फड्को मार्ने निश्चित छ ।

भोजपुरलाई पर्यटन विकासका सवालमा अघि बढाउनका लागि भोजपुरलाई सुन्दर बनाउनु पर्ने हुँदछ । जसमा भोजपुर जिल्ला विकास कार्यालयको नजर पर्नु नितान्त आवश्यकता छ । भोजपुरमा रहे भएका प्रशिद्ध तिर्थस्थल, धार्मिक गुम्वा, डाँडा–काँडा, पाखा–पखेरा, छाँगा–छहराको मर्मत सम्भार, प्रचार–प्रसार जस्ता क्रियाकलापमा लागि पर्नु पर्ने आवश्यकता छ ।

जसमा भोजपुरका बौद्धिक सर्कल, राजनैतिक कर्मी, पत्राकार, व्यापारी, महिला, युवा अनि विभिन्न संघ संस्था लगायत जि.वि.स., जि.प्र.का.को ठूलो हात रहेको छ । भोजपुरको माटोमा जन्मिएर भोजपुरको माटोलाई चिन्न सकेको खण्डमा र भोजपुरलाई मेरो जन्मभूमि भनि एकचोटी सम्झेको खण्डमा भोजपुरले अवश्य पनि काचुली फेर्ने निश्चित छ नत्र फेरि भोलीका दिनमा हामीले हाम्रो भोजपुर भन्न नपाउने हो की भन्ने शङ्का पैदा हुने निश्चित छ ।

बहुजाती बहुभाषि भएको भोजपुरलाई कुनै रुपमा पनि भोजपुरको अस्थित्व मेट्न नदिनु आम भोजपुरे बासीको दायित्व र कर्तव्यको सिमा रेखामा पर्दछ । भोजपुरको सिउँदोलाई प्रकृतिले नै सिन्दुर भर्ने काम गरिसकेको यस कालखण्डमा हामी भोजपुरले उक्त सिन्दुर पुछेर ब्रह्मलुट गर्ने कार्य नगरी सिन्दुरको महत्व बुझेर भोजपुरप्रति मायाँ मोह सदैव राख्ने हो, भने हामी भोजपुरको नाम भावी पुस्ताले पनि ओकल्न पाउने छन् नत्र आफ्नो स्वार्थ लिप्तको लागि अघि बढेको खण्डमा एकदिन अवश्य भोजपुरले भिरेको पगरी कोही कसैको पञ्जामा पर्ने निश्चित छ ।

तथापी भोजपुर विकासको लागि भोजपुरे आम जनताको दायित्व अन्तर्गत पर्दछ । हिजोको भोजपुर र आजको भोजपुर अनि भोलीको भोजपुरको बारेमा सपना देख्नु भोजपुरे समुदायको उत्तरदायित्व क्षेत्रभित्र पर्दछ ।
दलगाउँ–४, भोजपुर ।

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्