आमाको हत्या आशंकामा छोरासहित १८ जना घाटबाटै पक्राउ

गोरखा, असार १०
आमाको हत्या गरेको आशंकामा प्रहरीले छोरासहित १८ जना मलामीलाई घाटबाटै नियन्त्रणमा लिएको छ ।
जिल्लाको भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शव पनि हिजो नियन्त्रणमा लिएको हो ।
एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहानै मृत्यु भएको थियो । मदिरा सेवन गरेर ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय आमा विधा विश्वलाई कुटपिट गरेर घाइते बनाएका थिए ।
शरीरका विभिन्न भागमा निलडाम भएकी विधाको मृत्यु सोही कुटपिटबाट भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
दिउँसो दाहसंस्कारका लागि उनको शव दरौंदी नदी किनारको बिबेल घाटमा लगिएको थियो । राजेशले मदिरा खाएर आमालाई बेलाबेला कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: १० असार २०७५, आइतबार
















