साउदीमा एक नेपालीको मृत्यु


 


साउदी अरब, कार्तिक ३

रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ। पन्ध्र महिनाअघि साउदी अरब आएका पर्वत सलाजुङ्गा-३ का ३३ वर्षीय मानबहादुर पुन मगरको गत सोमबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो।

कामबाट फर्केर राति खाना खाएर सकुशल सुतेका मगर रातको १ बजे एक्कासि छट्पटिएका थिए। उनी छटपटिएको थाहा पाएपछि कोठामा सँगै सुतेका साथीले अस्पताल लैजाने तयारी गर्दागर्दै उनको सुतेकै ठाउँमा मृत्यु भएको झविलाल न्यौपानेले जानकारी दिए।

शव परीक्षण भइनसकेकाले उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन। मृत्यु भएका मगरको शव जुबैलस्थित जेनेरल अस्पतालमा राखिएको र शव स्वदेश पठाउनका लागि पहल भइरहेको न्यौपानेले बताए।

अल अद्वानी कम्पनीको स्काइफोल्डरमा कार्यरत पुन मगर साउदीको जुबैलस्थित अबुद्रिया क्याम्पमा बस्दै आएका थिए। मगरको परिवारमा वृद्ध बुबाआमा, श्रीमती र दुई छोरी छन्। रासस

प्रकाशित मिति: ३ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्