भिरबाट बस खस्दा ३० जनाकाे ज्यान गयाे


 


रसुवा, कात्तिक १७

काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नंम्बरको बस मंगलबार अपराह्न १ बजे दुर्घटना हुँदा ३० जना यात्रुको मृत्यु भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार घटनास्थलमा ३० वटा शव संकलन गरिएको छ। मृतक मध्ये १८ पुरूष, ११ महिला र १ जना बच्चा छन्। ‘भीरबाट ३० वटा शव माथि सडकमा ल्याइएको छ,’ प्रजिअ गेलालले भने ‘शव संकलनको काम भैरहेको छ।’ ३५ घाइतेलाइ उपचारका जिल्ला अस्पताल र काठमाडाैं पठाइएको गेलालले बताए।

पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब २ सय मिटर तल खसेको गेलालले जानकारी दिए। बसभित्र र छतमा खचाखच यात्रु थिए।

घटनास्थल सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा पर्छ। गम्भीर घाइतेलाइ थप उपचारका लागि काठमाडौँ पठाइएको छ। केही यात्रुले बसको छतबाट हाम फालेर ज्यान जोगाएका थिए। घाइते यात्रुहरूका अनुसार बसको अघिल्तिरको टायर पड्केपछि बस अनियन्त्रित भएर भिरबाट खसेको थियो। घटनास्थलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेका छन्।

प्रकाशित मिति: १७ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्