एसईईको तयारी तीव्र, माघ पहिलो सातादेखि प्रश्नपत्र छपाइ


 


काठमाडौं, पुस ३०

यस वर्ष आगामी चैत १० गतेबाट हुन लागेको एसईई परीक्षाको तयारी तीव्र पारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा।डा. चन्द्रमणि पौडेलले परीक्षाको लागि प्रश्नपत्रको मोडेल बनाउने काम सकेर छपाइको लागि पठाउने तयारीमा रहेको जानकारी दिए । माघको पहिलो हप्ताबाट प्रश्नपत्र छपाइको काम सुरु गर्ने उनले बताए ।

अध्यक्ष पौडेलले प्राविधिक तहको प्रश्नपत्रको मोडेल बनाउने काम भइरहेको र त्यसपछि छपाइको काममा लाग्ने बताए । उत्तरपुस्तिका भने यस वर्ष प्रदेश सरकारले नै छाप्ने निर्णय भएअनुसार प्रदेश सरकारहरुले आफ्नो हिसाबले छपाइ कार्य सकेर विभिन्न स्थानमा पठाउने काम सुरु गरिसकेको उनले जानकारी दिए ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रादेशिक कार्यालयबाटै हुने बताएको थियो । सोहीअनु्सार २०७५ को एसईईको सम्पूर्ण जिम्मेवारी प्रदेशलाई दिने तयारी भइरहेको पौडेलले बताए । बोर्डका ११ वटा क्षेत्रीय कार्यालयहरूलाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन हुने तयारी चलिरहेको छ । प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, ३ मा काठमाडौं, गण्डकीमा पोखरा, ५ मा कोहलपुर, कर्णालीमा सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने तयारी भइरहेको बताइएको छ ।

बोर्डले आवश्यक तयारीको अभावमा केन्द्रबाटै परीक्षा संचालन गर्नुपरेको जनाएको छ । प्रदेशलाई भने उत्तरपुस्तिका छपाइ र वितरणसँगै परीक्षा संचालनको जिम्मा दिइएको अध्यक्ष पौडेल बताउँछन् । अर्को वर्षबाट भने पूणरुपमा प्रदेशस्तरमै एसईई परीक्षा संचालन हुनेछ । यस वर्षको उत्तरपुस्तिकाको छपाइ तथा परीक्षा संचालनको खर्च प्रदेशमा गइसकेको छ ।

यस वर्षको एसईई चैत १० गते आइतबार सुरु भई २१ गते बिहीबार सकिनेछ । बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तालिका सार्वजनिक गरेको छ । गत वर्ष एसईईमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए भने बोर्डले यस वर्षको विद्यार्थी संख्या पनि त्यसैको हाराहारीमा पुग्ने अनुमान गरेको छ ।

प्रकाशित मिति: ३० पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्