अाजकाे मन्त्रिपरिषद बैठकले के-के निर्णय गर्याे ?


 


information ministryकाठमाडाै, कार्तिक २३

सरकारले सीमा क्षेत्रमा कायम अवरोध हटाइ आयात निर्यात सहज तुल्याउनका लागि सहयोग गर्न छिमेकी मुलुक भारतसँग औपचारिक रुपमा आग्रह गरेको छ। तेस्रोपटक विस्तारित मन्त्रिपरिषद्को सोमबार अपरान्ह सिंहदरबारमा बसेको पहिलो बैठकले सीमा क्षेत्रको अवरोध हटाइ आयात निर्यात सहज तुल्याउनका लागि भारतसँग आग्रह गर्ने निर्णय गरेको हो।

भारतले मधेशवादी दलका नेता तथा कार्यकर्ताले सीमा क्षेत्रमा जारी राखेको अवरोधलाई कारण देखाएर अघोषित नाकाबन्दीलाई जारी राखेपछि मन्त्रीपरिषद्को बैठकले अवरोध हटाउनका लागि सहयोग गर्न भारतलाई नै आग्रह गरेको हो। मधेशवादी दलहरुले भारततर्फको दशगजा क्षेत्रमा जम्मा भएर सवारीसाधनको आवतजावतमा अवरोध गर्दै आएका छन्।

मन्त्रिपरिषद्को बैठकले वार्तालाई निष्कर्षमा पुर्‍याउनका लागि इमान्दार हुन आन्दोलनकारी दलहरुलाई पनि आग्रह गरेको छ। आन्दोलनकारीका माग अनुसार आन्दोलनमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति वापतको रकम दिइसकेको, घाइतेहरुको निःशुल्क उपचार गरिरहेको र झुठा मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाइसकेको भन्दै सरकारले वार्ताप्रति इमान्दार हुन मधेशवादी दलहरुलाई आग्रह गरेको हो।

सरकारले नजिकिंदो तिहार र छठ पर्वलाई ध्यान दिइ आपूर्ति व्यवस्थामा अवरोध नगर्न पनि मधेशवादी दलहरुसँग आग्रह गरेको छ।मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा उहाँकै दल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य विष्णु रिमाललाई नियुक्त गरेको छ।

यस्तै एमालेकी वैकल्पिक केन्द्रीय सदस्य निरुदेवी पाललाई सचिव सरहको सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क विज्ञ तथा योगेन्द्र दाहाललाई राजनीतिक विज्ञमा नियुक्त गरेको छ। बैठकले अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गोविन्द नेपाललाई नियुक्त गरेको छ।

यस्तै राष्ट्रिय गानका संगितकार अम्बर गुरुङ्गलाई मासिक ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एंव सुचना तथा सन्चार प्रविधि मन्त्री शेरधन राइले जानकारी दिए ।

प्रकाशित मिति: २३ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्