कृपासुर शेर्पा पर्यटन मन्त्री


 


भोजपुर, जेष्ठ १०

प्रधानमन्त्री सुशील कोइरालाले एमाले सभासद् कृपासुर शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका छन् । दीपक अमात्यलाई बिहीबार फिर्ता बोलाएको एमालेले शुक्रबार पर्यटन मन्त्रीमा कृपासुर शेर्पालाई सिफारिस गरेपछि कोइरालाले उनलाई नियुक्त गरेका हुन् ।  शेर्पा भोजपुर– १ का निर्वाचित सभासद् हुन् । कोइराला सरकारमा पर्यटन मन्त्री हुने शेर्पा तेस्रो व्यक्ति हुन् । अमात्य अघि भीम आचार्य पर्यटन मन्त्री थिए ।

पदभार ग्रहण गर्दे मन्त्री शेर्पा । तस्बिर : रासस

नवनियुक्त पर्यटन मन्त्री नेपाल शेर्पा संघको अध्यक्ष समेत  भएका थिए । शेर्पाले भोजपुरको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दे आएका छन् । गत २०७० मंसीर ४ गतेको दोस्रो संविधान सभा निर्वाचनमा कृपासुर शेर्पा ११ हजार ४५० मत प्राप्त गरेर सभासद निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका धर्मराज राईले ८ हजार ९७० मत पाएका थिए । शेर्पा भोजपुर काठमाडौं सम्पर्क मन्चका पुर्व अध्यक्ष समेत हुन् । भोजपुरको वोखिम निवासी ६४ वर्षीय शेर्पा पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानका पनि अध्यक्ष हुन् । पर्यटन क्षेत्रमा क्रियाशिल भएकाले पनि उनका लागि पर्यटन मन्त्रालय नयाँ होइन तर शेर्पा मन्त्री भएर कस्तो काम गर्छन्, त्यसका लागि भने उनको परीक्षा शुरु भएको छ ।

पदभार ग्रहण

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् । नेकपा एमालेले यसअघिका पर्यटन मन्त्री दीपक अमात्यको ठाउँमा भोजपुर–१ बाट संविधानसभामा निर्वाचित कृपासुरलाई पठाएको थियो । साँझ राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाबाट उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । सपथपछि सिंहदरबारस्थित पर्यटन मन्त्रलाय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्