हवाई भाडा बढ्यो (कहाँको भाडा कति?)


 


काठमाडौं, कार्तिक २४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर भोलि मंगलबारबाट लागु हुनेछ ।

नेपाल आयल निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर १ सय १५ रुपैयाँका दरले बढाएर प्रतिलिटर २ सय ३३ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडा बढाउने निर्णय गरेको हो । सोमबारसम्म हवाई इन्धनको भाउ प्रतिलिटर १ सय १८ रुपैयाँ छ ।

हवाई इन्धनको भाउ बढेपछि वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा वृद्धि गर्ने गर्छन् । यो वृद्धि हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई बढेको भाडाकै रूपमा लिन्छन् ।

‘इन्धनको भाउ सतप्रतिशत हाराहारीले बढेपछि वाध्य भएर हामीले भाडा फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेका हौं,’ बुद्ध एयरका बिक्री तथा बजार कार्यकारी प्रबन्धक परासरजंग पाण्डेले भने, ‘यसबाट यात्रुलाई ठूलो मार पर्ने हामीले बुझेका छौं । तर लागत उच्च भएपछि भाडा बढाउनुको विकल्प पनि छैन । इन्धन आपूर्ति सहज भएपछि भाडा पुरानै दरमा आउने छ ।’

संघका अनुसार न्यूनतम १ हजार २ सय ९५ देखि अधिकतम ४ हजार ४ सय ६२ रुपैयाँसम्म सरचार्ज बढाउने निर्णय भएको छ । अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ४ हजार १ सय ६० रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १५ हजार ७ सय ९५ रुपैयाँ तिर्नुपर्छ ।

यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ । सोमबारसम्म सिमरा जान २ हजार ६ सय ५० र धनगढी जान ११ हजार १ सय ४० रुपैयाँ लाग्छ । यी सबै भाडा दर करसहित हुन् । सबै भाडा ‘नर्मल’ हुन् ।

त्यसैगरी मंगलबारबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु १३ हजार ८ सय ३५ रुपैयाँ, काठमाडौंबाट पोखरा जान ६ हजार ४ सय ९०, विराटनगर ९ हजार १ सय ५५, जनकपुर ५ हजार ६ सय ५, भैरहवा ८ हजार ६०, नेपालगन्ज ११ हजार ८ सय ९०, भद्रपुर ११ हजार ७० र तुम्लिङटार जान ७ हजार ७ सय ५० रुपैयाँ तिर्नुपर्छ । विराटनगरबाट तुम्लिङटार जान ४ हजार ७ सय ५ रुपैयाँ लाग्छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्