देशप्रेमः हाम्रो स्वाभिमान, हाम्रो गौरव



अच्युतप्रसाद पौडेल ‘चिन्तन’ माघ २१

वालकृष्ण समले भनेका थिए देशभक्ति त मर्दैन चुत्थै देश भए पनि, पक्षीलाई मारेको व्याधालाई इंगित गर्दै लेखनाथले भनेका थिए विम्वका रुपमा म मर्ने हुँ मर्छु तर तिमी नराम्रोसित चुक्यौ । शिकारीलाई भनेको हो यो । मुलुकको राष्ट्रियता कमजोर भएको छ । सुगौली सन्धिपछि कायम भएको मेची महाकाली भूगोल हामीले दरिलो र भरिलो बनाउनैपर्छ । सीमा विवादको प्रसंग खुलेर बाहिर आएको छ । भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो मजबुत हुनुपर्छ । सुगौली सन्धिपछि मुलुकमा भक्तिधाराको प्रवाह बढेको हो । भानुभक्तले रामायणलाई त्यतिकै लोकभाषामा उजागर गरेका होइनन् । राष्ट्रियताको मियो राजनीतिमै हुन्छ । केही दशक यतादेखि राजनीति रंगकर्मीको थलो बनेको छ । भारतीय जमीन खासगरी दिल्ली सानोतिनो झरीमा पनि दिल्लीको छाता नओढी सुख छैन । चालु नयाँ राजनैतिक परिवेशको सुत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै भएको थियो ।

नेताहरुले उतै पढे, उतै हुर्के, उतै साथीभाइ बनाए । खानपिन, बस्उठ्, रहनसहन सबैतिर सिकियो । यताबाट निर्वासित हुँदा होस् वा स्वतन्त्र जीवन यापन गर्दा होस्, भाषा संस्कृतिले डो¥याएर होस् सामाजिक परिवेश विहावारी, लेनदेन, आर्थिक लेनदेन बजार विविधीकरण या भनौं धार्मिक, सांस्कृतिक परिवेशले नेपाल भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहि आएको छ । उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले पनि धार्मिक, अध्यात्मिक क्षेत्र, नारायणी, विश्वनाथ होस् या पशुपतिनाथ, चारैधाम होस् या द्धादश ज्योति लिंग, पिण्ड पानीदेखि मुक्ति क्षेत्रसम्म जनकपुर होस् या अयोध्या नेता वी.पी, जी.पी. ,वाजपेयी । गान्धी, नेहरु पुराना नयाँ पुस्तादेखि मोदी युगसम्म नेपाल भारतका सम्बन्ध चिसो तातो हुँदै गर्मी, ठण्डा हुँदै, अध्ययन, अवलोकन, आरोह, अवरोह हुँदै लामो इतिहासदेखि हालसम्मको धरातलमा आइपुगेको छ । पटक पटकको सीमा विवाद, आर्थिक नाकाबन्दी कुनैबेला भात भान्सा बन्द स्वासप्रस्वास रोकिँदा पनि अबोध बालकझै निरीहझै बस्यौँ हामी भक्ति र भजन गर्दै । अधिकांश हाम्रो अर्थ बजार आयात निर्यात भारतीय भूमिको विकल्प छैन आजसम्म । मजासँग चल्दै आएको तातोपानी व्यापार नाका लामो समयदेखि बन्द छ । काठमाडौँ केरुंग बाटो साह्रै असजिलो छ । कसरी हो कुन्नी हाम्रा बीर बहादर शाहले केरुंग कुती सम्म व्यापार सहज बनाए । हालै पंक्तिकारलाई काठमाडौ रसुवा अन्तर्गत गल्छी त्रिशूली बट्टार बाटे गाडीमा छिचोल्न न्वारनदेखिकै बल प्रयोग गर्नु परेको थियो माघ ९ को कुरो हो झरी थियो हल्का ।

भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको भन्ने पक्कै होइन । राष्ट्रियता भन्नु भूगोल मात्रै होइन । मुटु पनि हो । माया विना मुटुको धड्कन चल्न सक्दैन माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरुको उपनिवेशमा परेन तर आर्थिक औपनिवेसिकता, पर निर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्याम गुर्लुम ढालेको छ । मुलुकमा रोजगारी छैन । स्वेच्छा वा विवसताले नेपालीहरु विदेशिसएका छन् । बुढा वा आज घर गोठको चिस्यानमा छन् । छोरो जापानमा छ, बुहारीलाई लण्डनको चिसोले छोला भन्ने डर छ । छोरी कोेरिया छिन् उनका पति अर्थात् ज्वाँई कतारमा छन् । सालो बैंककमा छ, साली अष्ट्रेलियामा । सासु ससुरा सम्धीहरु यतैउतै शहरमा कोठा खोजी बसेका छन् ।

आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं । मुलुको राष्ट्रियतारुपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरुपी चार पाङ्ग्रा हुन जरुरी छ । भूमिको कुरा माथि भयो । भूमिमा पनि कहिल्यै टनकपुर र महाकाली सन्धिको कुरा छ, कहिले चाँदनी दोधाराको, कहिले लिपुलेकको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेचीपुल वरिपरिको सीमानाको । विश्वकै एकमात्र हिन्दु राष्ट्रको नाम झिकिसक्यौँ हामीले । पावन पशुपतिनाथको एकमात्र भूमि नेपालमा मौलिक धर्म, हिन्दु त्यो अब रहेन । विश्वको आँखा यता तान्न सकिन्थ्यो, मुलुक नेपाल भन्दा नेपाल र नेपालीको मुहार सगरमाथाको शिरझै उचो हुन्थ्यो यसमा हाम्रो गहिरो ध्यान गएन ।

मुलुक बहुआयामिक संस्कृतिको धनी छ । तर मुलुकभित्रको संस्कृतिमा अब धमिरा लाग्न सुरु भएको छ । सबै संस्कृतिलाई धेरै पूmलहरु मिलाएर एउटै धागोमा बाँधेर माला बनाएझै रंगीन, हराभरा बनाएझैं एक सुत्रमा आबद्ध थियो पहिले । अब एक अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ । विदेशी सस्कृतिले बढी प्रश्रय पाउन थालेको छ । बत्ति बालेर पूजा गर्नुको सट्टा बत्ति निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृति भित्रेको छ । खानपिन, रहनसहन, लवाई, भाषा, भेषभुषा सबै विदेशी संस्कृतिमय बनेको छ । कुनैबेला यस्तो संस्कृतिको सबैलाई उराठ लाग्न सक्छ, समयमै बुद्धि नपु¥याए । वैवाहिक जोडीको संस्कृति भन्दा पारपारचुकेको संस्कृति भित्रिरहेको छ । विदेशीहरुले यहाँको मौलिक संस्कृतिलाई लोप गराई राष्ट्रियतामाथि धावा बोलिरहेका छन् । नजानिदो रुपमा भन्दा मन्द विष खुवाइरहेका छन् ।

लैगिंक र जातीय असमानतालाई हटाइनुपर्छ । भौगोलिक विकटता र आर्थिक असमानतालाई हटाइनुपर्छ । राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा कोही ठूलो हुन सक्तैन । हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको छ । मुलुकको संरचना संघीय प्रणालीमा छ । तर यो प्रणाली बहुत खर्चिलो छ । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धतिले पश्रय पाएको छ । जनतालाई सार्वभौम गराउनु पर्छ तर बोलीले मात्रै होइन यो व्यवहारले पनि हुनुपर्छ । मौलिक अधिकारको पुलिन्दा कागजमा लेखेरमात्र हुँदैन व्यवहारमा कति छ गोविन्दकेसीदेखि निर्मलाहरु नै जानून् । नेताहरुको निहित स्वार्थभन्दा नीतिलेनै सञ्चालित हुनुपर्छ मुलुक । सत्ताको शिखर सगरमाथा वा पदको शिखरत्व र ठूलाहरु अधिकार सम्पन्न हुनुपर्छ ,सगरमाथा चढ्नु राम्रो कुरा हो तर सगरमाथामै घर बनाएर बस्नु हुन्न अर्थात् पद र प्रतिष्ठा सदाबहार सँधै रहन्न कसैमा पनि । हिरण्याक्ष , हिरण्यकशिपु, रावण र दूर्योधनहरुले पनि संसार हाम्रो हो भनेका थिए । रावणको लंका जल्यो द्दारका शहर पनि समय पुगेपछि डुव्यो । नेपालमा एक किसिमको द्धन्द्ध कायमै छ । राजनैतक परिवर्तन पुरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेको छैन । दिगो विकास र समृद्धिका लागि मुलुकको आफै चिनारी हुन जरुरी छं । भाषिक औपनिवेशिकता छ यहाँ भर्खरै बोली सिक्न लागेको बच्चाले पिता, माता वा हजुरबा भन्न जान्दैन । उसले भन्न जान्दछ डेडी, ममी, कुकुर भन्न जान्दैन पपी भन्छ । काकाकाकी भन्दैन, अंकल, अन्टी भन्छ । यस्ता उदाहरण छन् । अन्य मुलुकका आफ्नै भाषा छन्, थाइल्याण्ड, चीन, जापान, जर्मनी, रुस, कोरिया सबैको आफ्नै भाषा छ ।

हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक छ । भन्छौं एकथरि गर्छौ अर्कै । बोलीमा स्थिरता छैन, निरन्तरता छैन । मानव चित्कार छ, कुण्ठा छ, बेमेल छ, विसंगति छ, बेचैनी छ, बेरोजगारी छ, वेवास्ता छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ, पैसाको खेल छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको उखान चरितार्थ छ । सम्पति कुम्ल्याउने भन्दा ठोस काम केही भएको छैन । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हावी छ प्रशासनमा, प्रहरीमा, सेनामा आइएनजिओमा, एनजिओमा कुन ठुला संस्थानमा हाम्रो मान्छे कुनै ठुला मुलुकमा हाम्रो राजदूत सबैतिर भागवण्डा छ, सबैतिर राजनैतिक रोजगारी छ । दलमा नमिसिएकाहरुलाई कुनै ठाउँ छैन । विश्वविद्यालय होस्, वा प्राज्ञिक कुनै पनि क्षेत्र राजनीतिको झोला नबोक्नेहरुको केही स्थान छैन । सबै कुरा खुल्ला बजारमै बिक्री वितरण हुन थालेको छ । ज्ञानभन्दा कुर्सी शक्तिशाली भएर ठडिएको छ, कामतिर भन्दा मामतिर, दामतिरको स्वार्थ बढी प्रेरित छ ।

सबैलाई हाम्रो समाजमा कृष्ण बन्ने हतारो छ, युधिष्ठिर बन्ने होइन , सबैलाई यहाँ राम बन्न हतार छ, लक्ष्मण बन्ने होइन , सबैलाई देवी बन्ने सोख छ, कुन्ती बन्ने होइन , सबैलाई कुवेर बन्ने इच्छा छ, सबैलाई अध्यक्ष बन्ने हतार छ, सदस्य भएर काम देखाउने फुर्सद कसैलाई छैन । सबैलाई नेता नै बन्नु पर्ने हतार छ, नैतिक बन्नु नपर्ने भएको छ । शान्ति दिन्छु भन्ने हाम्रा आजका बुद्धहरुले अशान्ति दिइ रहेका छन्, मन भाँचिरहेका छन् । तर उनीहरुलाई थाहा छैन आकाशलाई पनि बादलले ढाक्न सक्छ, सूर्यचन्द्रलाई पनि ग्रहण लाग्न सक्छ, समुन्द्र सुक्न सक्छ, हावा रोकिन सक्छ, सुमेरु पतन हुन सक्छ, तारामण्डलको तारामा गनिन नसक्ने एक मानव धर्तीको अगाडि केही होइन । तारालाई वादलले आफ्नो आँचलभित्र लुकाउन सक्छ । नोट र भोटमा किनबेच हुने मनहरु तरंगित हुन सक्छन् । पद क्षणिक हो, प्रसंशा क्षणिक हो, प्रतिष्ठा क्षणिक हो । पेशा क्षणिक हो । पवर्गमा पर्ने पद कार्यालय रहुञ्जेल मात्र काम लाग्छ, प्रतिष्ठा उसको समाज हुञ्जेल मात्र, पैसा उसलाई घटनाले साथ दिउञ्जेल मात्र, पुत्र पुत्री, परिवार पनि उसको शरीर हुञ्जेल मात्र । अपवर्गको पुण्यकार्यले भने बाचुञ्चेल मात्र नभई मरिसकेपछि पनि काम दिन्छ । त्यसैले त गीताले भनेको छ, क्षीणे पुण्ये मत्र्यलोकं बिशन्ति भनेर ।

व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर उसँग अथाह ज्ञान छ, अथाह ऊर्जाको स्रोत छ, विश्वमान चित्रमा मुलुक नेपाल सानो छ, शुन्य दशमलव शुन्य तीन प्रतिशत भूमि बोकेको छ यसले । तर यसको सगरमाथा यसले अंगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय सृजना महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एकमात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, यर्पटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिकहरु, विश्वमै चिनिएको वीर गोर्खाली नेपाली कहिल्यै उपनिवेशको छायाँमा नपरेको स्वाभिमानी जनता बहुभाषिक एकता, धर्म र संस्कृतिमा पखेरामा हुर्केका समाज, पाहुनालाई देवता सरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुना छन् यस मुलुकमा ।

युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशैको आशाको त्यान्द्रोमा बसिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ । वन पैदावार, जडिबुटीको खानी हो मुलुक । उपयोग गर्न, उत्खनन गर्न, उपभोग गर्न सकिएको छैन । बस समस्या त्यही नेर अड्किएको छ । यति हुँदाहुँदै पनि हामी भिक्षार्थी भएका छौं, ग्याँसको, मट्टितेलको, पेट्रोलको, हवाइ इन्धनको । हो, सबैथरि सबैथोक एकै ठाउँमा एउटै भूगोलमा नहुन सक्छ, नपाइन सक्छ । सँधै पाइने वस्तु पानीको प्रयोग पनि हामीले सही ढंगले गर्न सकेका छैनौं । शुद्ध पिउने पानीको सँधै हाहाकार छ, खेतीपातीमा सिँचाइ सुविधा पुगेको छैन, पानीबाट उत्पादन हुने विद्युतको संकट खेपेको खेप्यै छौं, हामी । हो, हाम्रो बोलीमा सत्य भन्दा मित्थ्या धेरै,व्यवहारमा सत्यभन्दा झूठ धेरै छ, हामीसँग कृषिमा हाम्रै मल खाद्य र बीउ बीजनले भन्दा रासायनिक मल र हाइव्रीड बीउले प्रश्रय पाएका छन् । यी भनाइ कुनै अन्ध राष्टृभक्ति होइन कपाल घामले मात्रै होइन कामैले फुलेकाले भनिएको हो, अस्तु सबैको होस् खुलेर आओस् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2019 Deshko News