बर्बरिक – जननेता मदन भण्डारीको मञ्चीय रेखांकन



काठमाडौं माघ २९
इतिहास–पुरुषका जीवन पढ्ने अभिलाषा प्रायः सबैमा मौजुद हुन्छ । र, त्यस्ता इतिहास–पुरुषहरूका जीवनवृत्तको अध्ययन गर्ने अनेक माध्यम हुन्छन् । शब्द, तस्बिर, रङहरूको संयोजन, पर्दा र मञ्चीय प्रस्तुति– यस्ता अनेकन् माध्यम समातेर अध्ययन गर्न सकिन्छ । नेपालको राजनीतिक आकाशमा केही वर्ष विशिष्ट चमक छरेर असामयिक रूपमा अस्ताएका जननेता मदन भण्डारीको राजनीतिक यात्राका तरेलीहरू समेटिएको नाट्य–प्रस्तुति ‘बर्बरिक’ले उनको राजनीतिक वैशिष्ट्यलाई यथेष्ठ रूपमा बुझ्न सघाउँछ । केही दिनपूर्व नाटकप्रति रुचि राख्ने काठमाडौंका पारखीहरूले ‘बर्बरिक’ हेरेर बेग्लै स्वाद लिएको दुईमत नहोला ।

जननेता मदन भण्डारीको राजनीतिक जीवनका सोपानहरूलाई शब्दको माध्यमबाट धेरैले पर्गेलेका छन् । उनको आकर्षक राजनीतिक व्यक्तित्वलाई दृश्य–चित्रहरूमा पनि उतारिएका छन् । रङ र कुचीले पनि उनको बहुआयामिक जीवन–सन्दर्भलाई चिनिसकेका छन् । तर, रंगमञ्चमा भने उनको विशिष्ट राजनीतिक चिनारीलाई उभ्याइएको थिएन, आजसम्म । जननेता मदन भण्डारीको राजनीतिक यात्राको थालनी भएको थलो, पूर्वी नेपालको मोरङ, झोराहाटमा क्रियाशील रंगकर्मीहरूले उनको निडर, साहसी, बुद्धिमत्तापूर्ण राजनीतिक हिँडाइ र त्यसले नेपालको राजनीतिक गोरेटामा कोरेका दूरगामी रेखाहरूलाई रेखांकन गर्ने काम गरेका छन् ।

मदनसँगै राजनीतिमा हातेमालो गरेका स्रष्टा–नेता प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई नाट्य रूपान्तरण गरी जननेताका ऊर्जाशील वर्षहरूदेखि दासढुंगामा विश्राम लिँदासम्मका क्षणलाई नाटकको समयावधि दिइएको हुँदा त्यसले उनको समुच्च राजनीतिक उतारचढावलाई बुझ्न सघाएको छ ।

बर्बरिक, महाभारतको एक गौरवशाली पात्र । उनी घटोत्कच र अहिलावतीका सुपुत्र थिए । बर्बरिकलाई उनका आमाले सिकाएका थिए कि तिमी जहिल्यै पनि उत्पीडित पक्षको तर्फबाट युद्धमा लड । उनी जिन्दगीभर यही सिद्धान्तमा अडिग रहे । तिनै पात्रलाई जननेता मदन भण्डारीसँग तुलना गरिएको छ । सिर्जनाको संसारमा रमाउन चाहनेहरूका निम्ति महाभारतको कथा र त्यसका पात्रहरू एउटा यस्तो अथाह भण्डार हो, जहाँबाट जति मिथक र कथाहरू निकाली वर्तमान राजनीतिक÷सामाजिक÷सांस्कृतिक सन्दर्भहरूसँग जोडेर पस्किए पनि कदापि रित्तिँदैन । महाभारतकालीन पात्रहरूलाई आधुनिक समाजका पात्रहरूसँग तुलना गरेर मूल्यांकनको तराजुमा जोख्ने कार्य भइरहन्छन् । स्रष्टा नेपालले पनि तिनै समृद्ध पात्र ‘बर्बरिक’लाई मदन भण्डारीको जीवनगाथासँगै उभ्याएर, दुवै पात्रलाई न्याय गरेको अनुभूति हुन्छ ।

‘बर्बरिक’मा मदन भण्डारीको राजनीतिक यात्राको पछिल्लो कालखण्डलाई केन्द्रमा राखिएको छ । चालीसको सुरुवाती दशकसँगै भण्डारीले तत्कालीन मालेको केन्द्रीय नेतृत्व सम्हाल्न पुगे । पञ्चायती विरोधी भावना घनीभूत रूपमा पोखिइरहेको त्यो समय जनताको चाहना र अपेक्षालाई बुझेर त्यहीअनुरूप कदम चाल्न राजनीतिक दलहरू क्रियाशील देखिएका थिए । २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाबीचको साझेदारी पञ्चायती व्यवस्था हटाउने आन्दोलनको निम्ति कोसेढुंगा साबित भयो र अन्ततः निरंकुश व्यवस्थाको अन्त्य भएर देशमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भयो ।

तत्कालीन समयमा ‘पानी बाराबार’को स्थितिमा रहेका कम्युनिस्ट र कांग्रेसबीच कार्यगत एकता हुनुमा जननेता मदन भण्डारीको सक्रिय पहल र राजनीतिक कुशलताले अहं भूमिका खेलेको थियो । २०४६ सालको जनआन्दोलन शिखरमा पुगेको बेला वीर अस्पतालको क्याबिनमा उपचाररत नेपाली कांग्रेसको सर्वमान्य नेता गणेशमान सिंह र मदन भण्डारीबीचको भेट र संवादले जनआन्दोलनको नेतृत्वदायी भूमिकामा मदन भण्डारीको देनमात्र उजागर हुँदैन, आन्दोलनप्रतिको संवेदनशीलता पनि उत्तिकै झल्किएको छ, नाटकमा ।

देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि मदन भण्डारी नेपाली राजनीतिक पटाका अद्भूत रूपमा चम्किए । राष्ट्रिय राजनीतिमा धु्रव ताराले झैं चमक छरेर उदाएनन् मात्र, राजनीतिलाई सही र सार्थक दिशातिर डो¥याउन पनि उनको अद्वितीय भूमिका रह्यो । आफ्नै पार्टीभित्र अनेक अन्तरविरोधलाई झेल्दै ‘जनताको बहुदलीय जनवाद’जस्ता नयाँ राजनीतिक सिद्धान्त लागू गराए । विश्व कम्युनिस्ट आन्दोलनले तत्कालीन समयमा बेहोरेको गहिरो धक्कालाई बुझेका उनले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने हेतुले नयाँ सिद्धान्त प्रतिपादन मात्र गरेनन्, त्यसलाई सर्वस्वीकार्य बनाउनतिर पनि उत्तिकै मिहिनेत गरे ।

तर, राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यमा चम्किलो छाप छाड्दै गइरहेका बेला नेपाली राजनीतिले एउटा वियोगान्त मोड समात्नुप¥यो । जननेता मदन र उनका सहयात्री जीवराज आश्रितको रहस्यमय ढंगले हत्या हुन पुग्यो । उक्त रहस्यमय हत्याकाण्डको गाँठो अहिलेसम्म फुक्न सकेको छैन ।

मूलतः ‘बर्बरिक’ले मदन भण्डारीको ऊर्जाशील जीवन हिँडाइदेखि मृत्युवरणसम्मका मुख्यांशहरूलाई नाटकको भाषा, शैली र संवादमा ढालिएको छ । गतिशीलता नाटकको अपरिहार्य अंग हो र नाटकमा गतिशीलता व्याप्त छ भने विहंगम दृश्यका कारण नाटक फराकिलो भावभूमिमा सजिन पुगेको छ । तराईको ग्रामीण जीवनको छवि, क्रान्तिचेतले भरिपूर्ण सांगीतिक आस्वाद, २०४६ सालको जनआन्दोलन र मदन भण्डारीको चुनावी सभाका फुटेज, काव्यात्मक प्रस्तुति आदिले नाटकलाई बहुआयामिकता प्रदान गरेको छ ।

‘बर्बरिक’को प्रस्तुतिसँगै नेपाली रंगकर्मीहरूलाई भन्न सकिन्छ– अब नेपाली रंगकर्मीहरूले मदन भण्डारीजस्तै देश र समाजलाई नौलो र परिवर्तनशील दिशामा डो¥याउन चाहने राजनीतिक व्यक्तित्व, राजनीतिबाहेक समाजका गौरवशाली अनुहारहरूलाई मञ्चमा उतार्नेतिर यथोचित पहल र ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News