नेपालले तोड्यो भारतको विश्व कीर्तिमान


 


उत्तमद्वारा निरन्तर ५० घण्टा १५ मिनेट योग म्याराथन

IMG_3065भाेजपुर, पुस ५

योग म्याराथनमा भारतले राखेको विश्व कीर्तिमानलाई नेपालले तोडेको छ । निरन्तर ५० घण्टा १५ मिनेट योग म्याराथन गरेर विश्व दर्शन अभियान, नेपालका सदस्य उत्तम मोक्तानले उक्त कीर्तिमान तोडेका हुन् ।

गिनिज वल्र्ड रेकडर्सका अनुसार यसअघि १५ फेब्रुअरी २०१५ मा भारतीय नागरिक योगराज सी.पी. ले ४० घण्टा १५ मिनेट योगासन गरी विश्व कीर्तिमान राखेका थिए । उत्तमले राखेको कीर्तिमान भारतीय नागरिकको भन्दा १० घण्टा बढी हो ।

वाल्मिकी विद्यापीठमा २०७२ पुस २ गते बिहान ११ बजेबाट सुरु भएको सो म्याराथन ४ गते दिउँसो १ बजेर १५ मिनेटसम्म चलेको थियो ।उक्त अवसरमा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले यस कार्यले नेपालको संस्कृति र पर्यटनलाई विश्वमा चिनाएको छ भन्दै विश्व कीर्तिमानी मोक्तानलाई मन्त्रालयका तर्फबाट सम्मान गर्ने प्रतिबद्धता जनाए ।

योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ ले यस कार्यक्रमबाट योगको उद्गमभूमि नेपाल विश्वमा चिनिएको विचार व्यक्त गरे । मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले डरलाई जितेरै अघि बढेपछि मोक्तानले यो स्तरको उपलब्धि हासिल गरेको बताए ।

IMG_2908आध्यात्मिक चिन्तक एल.पी. भानु शर्माले आफूले चाहेको तर गर्न नसकेको काम गर्न सफल मोक्तान जस्ता योगका साधकलाई दर्शन गर्न आएको भन्दै नेपालको गौरव बढाउने यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे । डा. राजु अधिकारीेले यो महान् उपलब्धिलाई सबैका सामु पु¥याउँछौ भन्दै उत्तमलाई बधाई दिए ।

समापनपछि मोक्तानको स्वास्थ्य अवस्था परीक्षण गरी सामान्य अवस्थामा रहेको जानकारी दिँदै डा. रवीन्द्र समीरले विश्वमा नेपाल र योगको गौरव बढाउने कार्य गर्ने उत्तमको महान् प्रयत्नको सरहाना गरे । वाल्मिकी विद्यापीठ, योग विभाग प्रमुख यतिराज भट्टराईले योगमा विश्व कीर्तिमान राख्ने उत्तम मोक्तान प्रति धन्यवाद ज्ञापन गरे ।

समापनका क्रममा कीर्तिमानधारी मोक्तानले भने– पूरै रात आफू कहिल्यै अनिदो बसेको थिइनँ । तर यो कार्यक्रममा पूरै खट्न सकें । अहिले चाहिं निद्रा लागिरहेको छ । उनले सुरुदेखि अन्त्य सम्मै मुस्कुराउँदै कठीन कठीन योगासन प्रदर्शन गरेका थिए ।

कार्यक्रमको आयोजक विश्व दर्शन अभियान नेपाल, सह–आयोजक योग विभाग, वाल्मिकी विद्यापीठ तथा मुख्य सहयोगी अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीभाषी भूटानी थिए । गिनिजको नियमअनुसार आयोजना भएको यो कार्यक्रमको प्रमाणलाई चाँडै उक्त रेकर्डसमक्ष प्रस्तुत गर्ने आयोजकले बताए ।

प्रकाशित मिति: ५ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्