मिक्लाजुङको कालिका माविमा प्रहरीको सचेतनामुलक प्रशिक्षण (फोटो फिचरसहित)



सुमन घिमिरे
उर्लाबारी, फागुन २३

मोरङको मिक्लाजुङ गाउँपालिका – ३ स्थित कालिका माध्यमिक विद्यालयमा आज महिला हिंसा, बाल दुव्र्यवहार, मानव बेचबिखन लगायतका विषयमा विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिईएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालयका कक्षा ६ देखी १२ सम्मका १५० भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिईएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले अपराध पहिचान तथा रोकथामका उपायहरु र ब्यक्तिगत जिम्मेवारी, लैगिंक हिंसा, बाल दुव्र्यवहार र मानव बेचबिखन, आधारभुत सुरक्षा, मादक पदार्थ र लागूपदार्थ दुव्र्यसनी, प्रहरीलाई खबर गर्ने अवस्था र १०० नम्बरको प्रयोगका विषयमा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षित पार्नुभएको थियो ।

उहाँले केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढिरहेको र यसको नियन्त्रणको भूमिकाका विषयमा प्रष्ट पार्नुभएको थियो । प्रहरी निरीक्षक तिमल्सिनाले यस्ता घटना न्यूनीकरणका लागि विद्यार्थीहरु पनि सचेत हुनुपर्ने बताउनुहुँदै अपराध भएमा तुरन्त खबर गनुपर्नेमा जोड दिनुभएको थियो ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर दाहालले समुदाय – प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिताका विषयमा सन्देशमुलक भिडियो प्रस्तुत गर्नुहुँदै अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । यस्ता कक्षा सञ्चालन भएपछि किशोरकिशोरीले आफूले जानेका कुरा साथीभाइ तथा परिवारमा समेत बताउने हुँदा हिंसा न्यूनीकरणमा सहयोग पुग्नाका साथै सभ्य र हिंसारहित समाज निर्माणमा सहयोग पुग्ने देखिएको प्रहरी बरिष्ठ उपरीक्षक दाहालले बताउनुभएको थियो । प्राय : किशोर अवस्थामा लागु औषधकोे दुव्र्यसनमा फस्ने भएकाले विद्यालय स्तरमा यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई थियो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले मिक्लाजुङ गाउँपालिकालाई अपराधरहित, भेदभावरहित, आयात भन्दा निर्यात बढी बनाउने अभियानमा लागिपरेको बताउनुहुँदै यस अभियानलाई सफल बनाउन सबैको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रहरीले विद्यालयस्तरबाटै गरेको यस्ता जानकारीमूलक कार्यक्रमले समाजमा अपराध र हिंसा नियन्त्रण भई सभ्य र समृद्ध समाज बन्न सहयोग पुग्ने अध्यक्ष आचार्यले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सरला राईले प्रशिक्षणका क्रममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै बिद्यालय परिसर नजिक चुरोट लगायतका धुमपानका पदार्थ बिक्रि वितरण रोक्नु पर्नेमा जोड दिनुभएको थियो । मिक्लाजुङ वडा नं. ३ का अध्यक्ष खगेन्द्र मादेन, युवा समाजसेवी गणेश भट्टराई, महिला नेतृ उमा नेपाली लगायतले प्रहरीले समय सान्दर्भिक कार्यक्रम ल्याएकोमा आभार ब्यक्त गर्दै यस्ता कार्यक्रमहरु गाउँगाउँ र बस्तीबस्तीमा लैजान सुझाब दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मात्रिकाप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुहुँदै विद्यालयस्तरमा हुने यस्ता कार्यक्रमले समाजमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो । समाजमा अहिले पनि कानूनी ज्ञान र सचेतना आवश्यक रहने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा र समुदायसँग प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्