अब तपाईसंग विदेशी लाइसेन्स छ ? अव प्रदेशबाटै हुन्छ नेपालीकरण


 


काठमाडौँ – यातातायत विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयहरुलाई पत्राचार गरीसकेको छ ।

यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभागमा पठाउने गरेका थिए ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताए । “कस्ता कागजात समेट्दा नेपालीकरण गर्नेरनगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।” उनले भने।

यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो ।

नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताए ।

उनका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन ।

विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो । तर अब सबै जिम्मेबारी प्रदेशको हुने उनले बताए ।

यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ ।

सोही व्यवस्थाका आधारमा विभागले विसं २०७४ देखि यो सेवा शुरु गरेको थियो ।

एकान्तकुना, सुकेधारा, ठूलो भ¥याङ, जगाति, सुनसरी, पर्सा, रुपन्देही र कास्की कार्यालयले चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएका छन् ।

ड्राइभिङ लाइसेन्सको परीक्षा दिँदै हुनुहुन्छ ? जान्नुस् प्रश्नपत्रमा भएका परिर्वतन

यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित परीक्षामा सोधिने विषयगत प्रश्नलाई हटाएको छ । र, सीपमा आधारित ज्ञानलाई प्राथमिकता दिइने भएको छ ।

यातायात व्यवस्था विभागले यसलाई लाइसेन्सको लिखित परीक्षा प्रणालीमा सुधारसहितको ठूलो परिवर्तन भनेको छ । विभागले शुक्रबार सवारी लाइसेन्सको लिखित परीक्षाको प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको हो ।

अब सवारी लाइसेन्सका लागि लिखित जाँच दिँदा विषयगत रुपमा उत्तर दिइराख्नुपर्ने छैन ।

के गरियो परिवर्तन ?

अब लिखित परीक्षामा सबै प्रश्नहरु बस्तुगत अर्थात अब्जेक्टिभ मात्रै सोध्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

‘विषयगत उत्तर दिनुपर्ने प्रश्न परीक्षामा सोधिने छैन’ प्रवक्ता पाण्डेले भने, ‘यसले कम पढेर पनि ड्राइभिङमा दक्षता भएकाहरु फेल हुनुपर्ने बाध्यता हट्छ र चालकको ज्ञान कस्तो छ भन्ने बास्तविक परीक्षण गर्छ ।’

अब लाइसेन्सको लिखित परीक्षामा २० वटा अब्जेक्टिभ प्रश्न सोधिने छ । र, पासमा हुनका लागि परीक्षार्थीले १० वटा प्रश्नको उत्तर अनिवार्य रुपमा मिलाउनुपर्नेछ । अर्थात १०० पूर्णाङ्कको परीक्षामा परीक्षार्थीले उत्तीर्ण हुन ५० अंक ल्याउनैपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. पाण्डेले बताए । परीक्षार्थीले अब सही प्रश्नको उत्तरमा चिन्ह लगाएर परीक्षा दिन सक्नेछन् ।

ज्ञान भएर पनि लेख्न नसक्नेलाई सहज

अहिलेसम्म ८ कक्षासम्म पढेका चालकहरुले लिखित परीक्षा दिँदा विषयगत प्रश्नको उत्तर दिन नसक्ने समस्या धेरै देखिएको छ । यसअघिको लिखित परीक्षामा १९ नम्बरको २ वटा विषयगत प्रश्न सोधिन्छ । जसमा ९.५ अर्थात ५० प्रतिशत अंक नल्याए फेल हुने ब्यवस्था छ ।

विभागले अब लिखित परीक्षाको प्रश्नहरुमा पनि परिमार्जन गर्ने भएको छ । अहिले सोधिँदै आएका प्रश्नहरुलाई समयसापेक्ष बनाउँदै चालकको दक्षता र ज्ञान परीक्षण गर्ने किसिमले परिमार्जन गरिने विभागले जनाएको छ ।

अब सवारीसाधनको प्राविधिक पक्ष, ट्राफिक नियम तथा संकेत र ड्राइभिङमा मुल पक्षहरुमा आधारित भएर प्रश्नहरु सोधिनेछन् । यसलाई ब्यवहारिक र तुलनात्मक रुपमा दक्षता भएकालाई सहज हुने गरी तयार गरिने विभागले जनाएको छ ।

नयाँ महानिर्देशकको राम्रो सुरुवात

विभागमा नयाँ महानिर्देशकमा रुपमा रुपनारायण भट्टराई आएपछि केही सुधारहरु देखिएका छन् । उनले काम थालेको २ हप्ता नबित्दै एकान्तकुनाको लाइसेन्स कार्यालयबाट लिखित फारम बुझ्न छाडिएको छ । उनले सवारी लाइसेन्स लिएकालाई वर्ग थप गर्दा अर्को लिखित परीक्षा दिनुनपर्ने निर्णय गरेका छन् ।

त्यसैगरी नयाँ खुलेका लाइसेन्स कार्यालयहरुलाई ट्रायल सेन्टरको ब्यवस्था गर्दै सेवमा सहजीकारणको प्रयास भट्टराईले गरेका छन् ।

उनले ३ महिनाभित्रै यातायात ब्यवस्था विभागको सेवामा महसुस गर्न सकिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । अब यो ब्यवस्था पछि लाइसेन्सका नाममा दलालहरुले गर्ने ‘सेटिङ’ पनि प्रभावित हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्