राजनीति छोडेर खेती गर्न जाऊँ कि जस्तो लाग्छ :प्रचण्ड


 


काठमाडौं फागुन २५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् ।पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् ।ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नुपर्ने दोहोर्याए ।‘दिवंगत नेताहरुको चाहना तथा उहाँहरुले जनतासँग भोट मागेअनुसार सरकारमा बसेर हामीले काम गर्न सकेका छौं कि छैनौं, अहिले आएर सरकारको समीक्षा पनि गर्नुपर्ने अवस्था आएको छ । यो विषयमा पार्टीभित्र पनि कुरा उठेको छ’, उनले भने । यो समाचार नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार टपेन्द्र कार्कीले लेखेका हुन्।

फागुन ११ गते भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटनका क्रममा दाहालले कहिलेकाहीं आफूलाई पनि राजनीति छोडेर खेती गर्न जाऊँ कि जस्तो लाग्ने गरेको अभिव्यक्ति दिए ।‘समृद्धिको यात्रा भनेको कृषिको आधुनिकीकरण र रोजगार वृद्धि हो,’ दाहालले भने, ‘हामीले ठूला कुरा गर्दै आएका छौं तर कृषि उत्पादनका उपभोक्ता र कृषकको दूरी घटाउन सकेका छैनौं ।’उनले बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थितिमै सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको भन्ने समीक्षा गर्नुपर्ने बताए ।

दाहालबाट सरकारको समीक्षाको कुरा किन आइरहेको छ ? नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीभित्र सरकारको समीक्षा गर्नुपर्छ भन्ने कुरा उठेको धेरै महिना भइसकेको बताए ।सरकारमा रहने र सरकारका कामकारबाहीका विषयमा किन आलोचना भइरहेको छ भन्नेबारेमा समीक्षा गरौं भन्ने कुरा उठिरहेको उनले बताए ।‘गएको स्थायी कमिटी बैठकमा यो विषयमा कुरा उठेको थियो तर सरकारको समीक्षा गर्नकै लागि छुट्टै बैठक बस्ने भनेपछि त्यस बेला समीक्षा हुन सकेन र सरकारको समीक्षाकै लागि भनेर बैठक पनि बस्न सकेन त्यस कारण दाहालले प्रधानमन्त्रीका अगाडि समीक्षाको कुरा उठाउनुभएको हुनसक्छ’, उनले भने ।

राजनीतिक विश्लेषक झलक सुवेदीले दाहालको अभिव्यक्ति प्रधानमन्त्री र सरकारविरोधी नभई सरकारले गरेका कामकारबाहीप्रति जनस्तरमा उठेका प्रश्नको सम्बोधनका लागि आएको हुन सक्ने बताए ।‘भक्तपुरको कार्यक्रममा उठाइएको विषयचाहिँ युवालाई सम्बोधन गर्ने तहको देखिन्छ भने बिहीबारको अभिव्यक्तिमा सरकारको गतिविधिबारे विभिन्न कोणमा जनस्तरमा भइरहेका टीकाटिप्पणीलाई सम्बोधन गर्ने अभिप्राय देखिन्छ’, विश्लेषक सुवेदीले भने ।उनले पार्टीभित्र समेत विभिन्न प्रश्न उठेको बताउँदै सरकारको कामको समीक्षा गर्दा टीकाटिप्पणी कम हुन सक्ने कोणबाट पनि दाहालको अभिव्यक्ति आएको हुन सक्ने बताए ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्